
लुदअ गुल्मी, मंसिर १५
गुल्मीको सत्यवती गाउँपालिका–१ अस्लेवाकी ६३ वर्षीया जुनमाया अधिकारीले सपौदे खोलाबाट पानी बोक्दा घरमै पानीको धारा आउला भन्ने सोचेकी थिइनन्। तर, उनले नसोचे पनि अहिले उनको घरमा नै पानीको धारा पुगेको छ।
यस्तै, त्यही गाउँकी ७७ वर्षीया दुर्गादेवी पाण्डे पनि घरमै पानी आएपछि खुसी छन्। ‘बुढेसकालमा घरमै पानी आउँदा खुसी नहुने कुरै भएन,’ उनले भनिन्, ‘भर्खरै पानी आएकाले सिमेन्टको धारा बनाउन नपाएको उनी बताउछिन्।’ घरमै पर्यात पानी आएपछि स्थानीयको दैनिकी समेत फेरिएको छ। अस्लेवा चौरकी २५ वर्षीया जानकी पाण्डेयले खानेपानी पर्याप्त भएपछि दैनिकीमा समेत परिवर्तन आएको उनले बताइन्। अस्लेवा ५, ६ र ७ खानेपानी तथा सरसफाई आयोजनामार्फत अस्लेवाका नागरिकको ‘एक घर एक धारा’ को चाहना पूरा भएको हो।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले एक करोड ९६ लाख ४२ हजार ७ ९८ रुपैयाँको लागतमा अस्लेवा ५, ६ र ७ खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको गरेको हो। दुई वर्षमा निर्माण सम्पन्न भएको यो आयोजनाले अस्लेवाका १९४ घरघरमा धारा पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मी इन्जिनियर प्रकाश न्यौपाने बताए।
अस्लेवा ५, ६ र ७ खानेपानी तथा सरसफाई आयोजना सत्यवति गाउँपालिका–१ को सबैभन्दा बृहत् खानेपानी आयोजना हो। यो आयोजनाको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका हुन्।
गुल्मीमा २०७४ सालको तीनै तहको प्रमुख चुनावी नारा एक घर एक धारा हो। यो अभियानसँग हरेक नागरिकको भावना जोडिएकाले स्थानीय तहबाट आफूहरुले धेरै काम गरिरहेको सत्यवति गाउँपालिका वडा नं १ का वडाध्यक्ष भिमलाल पाण्डेयले बताए।

