बालुवाटारमा पत्रकारको अपमान : प्रधानमन्त्री निवासको गेटबाटै प्रवेश गर्न रोक

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, १८ मंसिर
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका बैठक र भेलाहरु पार्टी मुख्यालय धुम्बाराहीमा गर्नुपर्नेमा प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बैठकका लागि न त पार्टी कार्यालय धुम्बाराहीमा जानुहुन्छ, न मन्त्रिपरिषद् बैठकका लागि सिंहदरबार नै ।

प्रधानमन्त्रीको सरकारी निवासमा हुने सत्ताधारी दलको बैठक र भेलाहरुले एकातिर सरकारी स्रोतको दोहन हुँदै आएको छ भने अर्कातिर नेकपाले सूचना सम्प्रेषणमा पत्रकारलाई समेत अमर्यादित व्यवहार गर्दै आएको छ ।

समाचार संकलनका लागि बालुवाटार पुग्ने गरेका पत्रकारहरुलाई प्रधानमन्त्री निवासको गेटबाटै प्रवेश गर्न रोक लगाइँदा पत्रकारहरुले सूचना प्राप्त गर्न सडकमै घन्टौंसम्म कुर्नुपर्ने अवस्था निर्माण गरिएको छ ।

मंगलबार बसेको नेकपा सचिवालय बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुलाई सडकमै उभ्याइएको थियो । बुधबार पनि त्यस्तै व्यवहार गरेर अपमानित गरियो ।

आफूहरुप्रति दुर्व्यवहार भएपछि मंगलबारको बैठकमा पत्रकारहरुले बालुवाटारभित्र प्रवेश गर्न नमान्दा प्रवक्ता नारायणकाजी श्रेष्ठले सडकमै आएर बैठकबारे जानकारी दिनुपरेको थियो ।

पेसागत कर्तव्य पूरा गर्दा आफूहरुप्रति गरिएको व्यवहारले दुःखी भएको पत्रकारहरु बताउँछन् ।

तर, किन यसरी पत्रकारहरुलाई अव्यवस्थितरुपमा सडकमै घन्टौं उभ्याएर राखिन्छ रु के सरकारी निवासमा बस्ने पार्टीको बैठकको सूचना प्रवाह गर्न पत्रकारहरुलाई व्यवस्थित गर्नेबारे नेकपाले ध्यान नदिएको हो रु यस विषयमा प्रवक्त श्रेष्ठ भने आफू बेखबर भएको बताउनुहुन्छ ।

त्यसो त प्रधानमन्त्री ओली सत्ताधारी दलका बैठकमा मात्र पार्टी मुख्यालय नजाने होइन, मन्त्रिपरिषद्को बैठक पनि सिंहदरबारमा गर्न छोडिसक्नुभयो ।

बालुवाटारभित्र गुटका भेला, पार्टी अन्तरसंर्घषका छलफल, कार्यक्रमहरु हुँदै आएपनि सचिवालयको बैठकमा पत्रकारहरुलाई प्रवेश गर्न नदिनुले सत्ताले अझैपनि मिडियाप्रति संकीर्ण भावना राखेको पत्रकारहरुले महसुस गरेका छन् ।

सूचना संकलनमै रोक लगाइनुले पनि पार्टीभित्रको विवादको सत्य कुरा बाहिरिने त्रासको अभिव्यक्ति बुझिन्छ ।

सचिवालय बैठकमा भएका छलफलहरुका सूचना अनौपचारिकरुपमै बाहिरिने गर्छन् । तर, सत्य, विश्वसनीय समाचार संकलनकै लागि भने सञ्चारकर्मीलाई नै रोक लगाउनुले राज्यले अहिलेपनि पत्रकारहरुप्रति कठोर बन्दै गएको आभास पत्रकारहरुले गरेका छन् ।


प्रकाशित : २०७७ मंसिर १८, बिहीबार ०४:०२