लुदअ काठमाडौं, मंसिर २३
सरकारले मंसिर १५ गते निकै तामझामसहित देशभर ३९६ वटा स्थानीयस्तरका अस्पताल शिलान्यास गर्यो। यो कामलाई सरकारले सक्दो प्रचारबाजी गरी जनस्तरबाट वाहवाही बटुल्न खोजेको थियो।
तर, शिलान्यास गरिएका ३९६ मध्ये १२२ वटा अस्पतालमात्रै यतिखेर निर्माण प्रकृयामा रहेको थाहा भएको छ। सामान्यतयास् कुनै पनि संरचनाको शिलान्यास निर्माण चरणमा लैजान गरिन्छ। शिलान्यासमा हतारिने र वर्षौंसम्म आयोजना अलपत्र पार्ने बानी परेको सरकारले अस्पतालजस्तो संवेदनशील विषयमा पनि प्रचारकै लागि शिलान्यासमा हतारो गरेको देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आधारभूत अस्पताल शिलान्यास कार्यक्रमका संयोजक एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा। माधवप्रसाद लम्सालका अनुसार अस्पताल शिलान्यास गरिएका भनिएका धेरै ठाउँमा जग्गा विवाद छ। उनले भने, ‘जग्गा विवादकै कारण केही ठाउँमा अझै शिलान्यास भएको छैन, गरिएका केही ठाउँमा पनि जग्गा विवादकै कारण निर्माण कार्य हुन सकेको छैन।‘
सरकारले जनतालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा दुई वर्षभित्र निर्माण सक्ने र सेवा प्रदान गर्नेगरी गत मंसिर १५ गते देशभरका ३९६ वटा स्थानीयतहमा एकैपटक अस्पताल शिलान्यास गरेको बताएको थियो।