
लुदअ काठमाडौं, मंसिर २३
काठमाडौं उपत्यकामा तरकारीको भाउ वर्षमा २ पटक महँगिन्छ । एउटा असोज–कात्तिकमा, र अर्को चैत–वैशाखमा । वर्षे तरकारीको स्टक सकिँदै जाँदा र हिउँदे तरकारी आइनपुग्दा असोज–कात्तिकमा तरकारीको बजारमूल्य निकै माथि पुग्छ । हिउँदे तरकारी रित्तिदा र वर्षे तरकारी पर्याप्त रुपमा उत्पादन नहुँदा चैत–वैशाखमा पनि तरकारी महँगो हुन्छ । अरु सिजनमा भने मौसम अनुसारका सस्तो हुन्छ ।
आलु र प्याजमा भने यो अवस्था अलिक फरक छ । दुई सिजनमा उत्पादन हुने र तत्कालै उपभोग गर्न नपर्ने भएकोले यी तरकारीको मूल्य वर्षमा एकपटक मात्रै महँगिन्छ । यो मूल्य साउनपछि विस्तारै उकालो लाग्दै जान्छ भने कात्तिक अन्तिमदेखि विस्तारै घट्दै जान्छ ।
तर, यसपालि यस्तो भएन । मंसिर महिना सकिनै लाग्दा समेत आलु र प्याजको भाउ घट्ने सुरसार देखिएको छैन । आलुको भाउ त अघिल्लो वर्षभन्दा ५० प्रतिशतसम्म महँगो भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सर्भेक्षण अनुसार मंगलबार होलसेल बजारमा आलु रातोको भाउ प्रतिकेजी ६८ रुपैयाँ छ । त्यस्तै, भारतीय आलु रातोको र आलु सेतो प्रतिकेजी ६३÷६३ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्यले होलसेल बजारमै आलुको मूल्य एक धार्नीको १ सय ५० रुपैयाँ भन्दा बढी पर्न आउँछ । खुद्रा बजारमा मूल्य योभन्दा पनि बढी छ ।
उता मंगलबार सुकेको भारतीय प्याजको होलसेल मूल्य १ सय ५ रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा कम भए पनि सामान्य अवस्थामा भन्दा यो मूल्य दोब्बरभन्दा बढी हो ।
किन सस्तिएन आलु–प्याज ?
यो वर्ष आलु नसस्तिनुमा भारतबाट आउने आलु प्रमुख कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले नेपाली र भारतीय दुवै प्रकारको आलु बजारमा आपूर्ति हुन्छ । तर नेपाली आलुको मूल्य निर्धारण भारतीय आलुको मूल्यका आधारमा हुँदै आएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले भारतीय आलुभन्दा नेपाली आलु केही महँगो राखेर व्यापारीहरुले मूल्य निर्धारण गर्ने गरेको बताए ।

