बालाचतुर्दशीको पूर्व सन्ध्यामा सुनसान पशुपति

[sharethis-inline-buttons]

लुदअ मंसिर २८, काठमाण्डौ
मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष सुनसान भएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेर मनाइने बालाचतुर्दशी पर्वमा यस वर्ष पशुपति सुनसान भएको हो ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात हिजो दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यस वर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो । दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न ठाउँबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गरेका छन् । पशुपति क्षेत्रमा महादीपदान गर्न पूर्णरूपमा निषेध गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । आइतबार बिहान शतबीज छर्न भने मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएको पनि उहाँले जानकारी दिनुभयो । मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा भने शतबीज छर्न सकिने कोषले जनाएको छ ।


प्रकाशित : २०७७ मंसिर २८, आईतवार ०२:१३