मेलम्चीको गुणस्तर जाँच्न एडीबीले पठायो विदेशी विज्ञ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ मंसिर २९, काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षणको लागि दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले अन्तर्राष्ट्रिय विज्ञ टोली नेपाल पठाएको छ ।

काममा ढिलासुस्ती र लापरवाही भएको भन्दै एडीबीले निर्माणस्थलको निरीक्षण गर्न हाइड्रो मेकानिकल, सुरुङ, खानेपानी वितरण प्रणाली लगायतका विज्ञ रहेको चार सदस्यीय टोली पठाएको हो । आयोजनाका एक अधिकारीका अनुसार विज्ञ टोली शनिबारबाट आयोजना निर्माणस्थलमा पुगेको छ र एक हप्तासम्म नेपालमै रहेर आयोजनाको कामबारे जाँचबुझ तथा निरीक्षण गर्नेछ ।

०६४ सालमै निर्माण सक्ने गरी थालिएको मेलम्ची आयोजनाको म्याद पटक–पटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ ।

गत २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फसेको छ । दुर्घटनामा एक जनाको मृत्यु भयो भने एक–एक जना घाइते र बेपत्ता भए ।

अहिले मुख्य सुरुङका चारवटै अडिट टनेलका गेट सुधार गरिँदैछ । गेट जडानको काम चलिरहँदा एडीबीको टिम आयोजना स्थलमा आइपुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रकाशित : २०७७ मंसिर २९, सोमबार ०२:१७