
लुदअ काठमाडौं, पुष २
लकडाउन खुलेपछि सरकारले नियमित अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएसँगै मानिसहरू विदेश यात्रामा निस्कन थालेका छन्।
चार महिनायता कोरोना कहरबीच पनि २६ हजारभन्दा बढी नेपालीले भिजिट भिसामार्फत नेपाल छोडेका छन्। चैत ११ गतेदेखि लकडाउन शुरू भएपछि नियमित उडान बन्द भएको थियो। भदौ १६ गतेबाट नियमित उडान शुरू भएको हो।
पर्यटक भिसामा जाने नेपाली नागरिकले पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिठ्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँ व्यवस्था गरेको प्रमाण देखाएपछि मात्र प्रस्थान अनुमति दिन गत सालको २०७६ कात्तिक २६ गते गृहमन्त्री स्तरीय बैठकले निर्णय गरेको थियो।
धेरैजसो नेपाली भिजिट भिसामा युएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन र मलेसिया गएका छन्। त्यसरी जान माथि उल्लेखित कागजात अनिवार्य देखाउनुपर्छ।
अध्यागमन विभागका अनुसार अन्तरराष्ट्रिय उडान खुलेपछि २६ हजार ४ सय ५३ नागरिकले स्वदेश छाडेका छन्। खाडी मुलुक, जापान, युरोप तथा अमेरिकी मुलुक गएका छन्।
नेपालबाट धेरै अन्तर्राष्ट्रिय उडान ट्रान्जिट जाने भएकोले यही मुलुकमा गएको भनेर निकाल्न सकेको विभागले जनाएको छ। विभागको तथ्यांकमा ट्रान्जिट राष्ट्रको उडान दर्ता हुने भएकोले त्यसरी अन्य मुलुकमा गएको तथ्यांकमा नराखिएको अध्यागमन विभागका प्रवक्ता टेकनारायण पौडेलले जानकारी दिए।
कोभिड त्रासका बाबजुद भदौ १६ गते देखि अन्तर्राष्ट्रिय उडान भएको थियो। यसअघि विदेशमा रहेका नेपाली कामदारलाई विभिन्न वायुसेवा कम्पनीको जहाज चार्टड गरी नेपाल ल्याइरहेको थियो।

