
लुदअ पुस २, काठमाण्डौ
पछिल्ला वर्ष उखुको उत्पादन घट्दै गएको छ । उखुको मूल्य निर्धारण, कटान चलान र भुक्तानीको झमेला व्यहोर्नुपरेपछि उखुखेती र उत्पादन घट्दै गएको हो ।
उखु रोप्ने बेला किसानलाई बिउ पाउन हम्मे हम्मे पर्छ । किसानले उचित मुल्य नपाउने र चिनी मिलले बेलैमा भुक्तानी पनि नदिने गर्दा किसान मारमा पर्ने गरेका छन् । गत वर्ष झण्डै ६५ लाख क्विन्टल उखु कम उत्पादन भयो । गत वर्ष एक करोड ४० लाख क्विन्टल उखु क्रसिङ भएको थियो । त्यसभन्दा अघिल्लो वर्ष दुई करोड आठ लाख क्विन्टल उखु क्रसिङ भएको राष्ट्रिय उखु उत्पादक महासंघको तथ्याङक छ ।
उखुको उत्पादन घटेपछि चिनी उत्पादनमा पनि असर पुग्छ । स्वदेशी उद्योगले दुई लाख २० हजार टनसम्म चिनी उत्पादन गर्दै आएका छन् । तर चिनीको माग दुई लाख ५० हजार टन छ । नगदेबाली उखुको तराईमा धेरै खेती हुन्छ । तर उखु खेतीमा समस्या नै समस्या खेप्नुपर्ने बाध्यता छ । अहिले उखु किसान आन्दोलनमा छन् ।
चिनी उद्योगीसँग बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरुले काठमाण्डौमा आन्दोलन गर्दै आएका हुन् । सङ्घर्ष समितिले राज्य कोषबाट किसानलाई तत्काल भुक्तानी दिन र उद्योगीबाट ब्याजसहित असुल उपर गर्न सरकारलाई लिखित आग्रह गर्ने तयारी गरेको छ ।
उखु किसान सङ्घर्ष समिति सर्लाहीका संयोजक राकेश मिश्रले सरकारले आफै भुक्तानी दिनुपर्ने मुख्य माग रहेको बताउनुभयो । उद्योग मन्त्रालयले उखु किसानले उठाएका विषय सम्बोधन गर्न तयार रहेको जनाएको छ । मन्त्रालयका सहसचिव नारायण रेग्मीले उखु किसानका समस्या तत्काल समाधान गर्न तयार रहेको र त्यसका लागि छलफलमा बोलाएको बताउनुभएको छ ।

