सिक्टा सिँचाइ : १४ अर्ब लागत र ७ वर्ष समय थप्‍ने तयारी

[sharethis-inline-buttons]

लुदअ नेपालगञ्‍ज, पुष ३
लक्ष्यअनुसार काम हुन नसक्दा बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको लागत र समय बढ्दै गएको छ।

दोस्रो पटक गुरु योजना संशोधन गरेर थप १४ अर्ब लागत र ७ वर्ष समय बढाउने तयारी गरिएको छ। सिँचाई मन्त्री वर्षमान पुनसहित सिँचाइ विभागका उच्च अधिकारी, बाँकेका जनप्रतिनिधि र सिक्टा सिचाइका उपभोक्ताबीच हालै नेपालगञ्‍जमा आयोजना गरिएको अन्‍रक्रिया कार्यक्रममा सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाले दोस्रो पटक गुरु योजना संशोधन गर्ने तयारी भई रहेको जानकारी दिएका छन्।

बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले १४ वर्षअघि सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको थियो। आयोजना सुरु गर्दा १२ अर्ब ८० करोडको लागतमा २०७० को माघसम्म पूरा हुने लक्ष्य राखिएको थियो।

लक्ष्यअनुसार काम हुन नसकेपछि २०७१ सालमा पहिलो पटक गुरु योजना संशोधन गरेर १२ अर्ब ८० करोड लागत बढाएर करिब २५ अर्ब २ करोड पुर्‍याइयो।

त्यसैगरी निर्माण सम्पन्न गर्ने समय ६ वर्ष थपेर आर्थिक वर्ष ०७६र०७७ सम्म पूरा गर्ने लक्ष्य राखियो।

पहिलो पटक संशोधन गरिएको गुरु योजनाअनुसार काम हुन सकेन। निर्माण सम्पन्न हुनुपर्ने समय सम्म आइपुग्दा थप थप ४ अर्ब २० करोड खर्च भएर लागत १७ अर्ब पुगे पनि काम भने करिब ६५ प्रतिशत मात्रै काम पूरा भयो।

त्यसपछि दोस्रोपटक गुरु योजना संशोधन गरेर ३९ अर्बको लागतमा ०८५र०८६ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रस्ताबित दोस्रो गुरुयोजना पास हुने अन्तिम चरणमा पुगको छ।

सिक्टाको नहर निर्माणमा लागत र समय बढेको बढ्यै गरे पनि प्रतिफल भने निक्कै कम प्राप्त भई रहेको छ। राष्ट्रिय गौरबको आयोजना भए पनि आयोजनाका काम गर्ने दक्ष जनशक्ति नहुँदा काम अत्यन्तै सुस्त गतिमा भइरहेको छ।

काम सुस्त गतिमा हुँदा लागत र समय बढ्ने तर किसानहरुले पानी सिँचाइ सुविधा पाउन ढिलाई भइरहेको सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए।

घुलनशील माटोको कारण नहर भत्कने समस्यादेखि अख्तियारद्वारा गरिएको छानबिन र मुद्दा मामिलाका कारण समस्याग्रस्त अवस्थामा पुगेको सिक्टा सिँचाइ आयोजनालाई मर्मत संहार गर्दै गएर किसानको खेतबारीसम्म सिँचाइ सुविधा दिन सक्ने अवस्थामा पुर्‍याइएको छ।

आयोजनामा देखिएको समस्याहरूलाई समाधान गर्दै सिँक्टा सिचाइ आयोजनाको निर्माण कार्यलाई नयाँ गुरु योजनाअनुसार तीव्र गतिमा कामलाई अगाडि बढाएर किसानको खेतबारीमा पानी पुर्‍याइने सिँचाइमन्त्री वर्षमान पुनले बताए।

सिक्टाको मूलनहरबाट किसानको खेतसम्म पानी पुर्‍याउनका लागि ७ वटा शाखा र ५० वटा उपशाखा गरेर करिब १ सय किलोमिटर नहर निर्माणको काम भइरहेको छ। मूल नहरमा पानी सञ्‍चालन गरेर आयोजनाले गहुँ तथा तोरी खेतीका लागि करिब २० हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ।


प्रकाशित : २०७७ पुष ३, शुक्रबार १५:०३