महामारीको बेला ‘गायब’ बनेका लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टरलाई हटाईयो

[sharethis-inline-buttons]

लुदअ बुटवल, चैत २६
कोरोनाभाइरसको महामारीको विषम परिस्थितिमा विरामीलाई उपचार गर्नुको साटो चिकित्सकहरु गायब भएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ५ जना डाक्टरलाई सेवाबाट हटाइएको छ ।

अस्पताललाई कुनै जानकारी नदिइ अस्पतालमा नआउने ५ जना मेडिकल अफिसरसहितका चिकित्सकलाई अस्पतालले सेवाबाट हटाइदिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डन डा. राजेन्द्र खनालका अनुसार रेडियोलोजिस्ट डा। बरदान वली, डा। तारा शर्मा, डा। प्रकृति कार्की, नाक, कान, घाँटी रोग विशेषज्ञ डा। प्रकाश न्यौपाने, युरो सर्जन डा. सुभाषचन्द्र चौधरीलाई सेवाबाट हटाइएको बताए ।

अस्पतालमा कुनै जानकारी नदिइ चौधरी गत चैत ९ गतेदेखि, वली, शर्मा र न्यौपाने चैत ११ गतेदेखि र कार्की चैत १२ गतेदेखि अस्पताल नआएको अस्पातालले जनाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा डाक्टरहरूलाई कारवाही गरिएको हो । हटाइएका सबै करारमा कार्यरत चिकित्सकहरु हुन् । उनीहरू करीब १ वर्ष अगाडिदेखि अस्पतालमा कार्यरत थिए ।

उनीहरुलाई यही चैत २० गतेदेखि लागू हुने गरी अस्पताल सेवाबाट हटाइएको छ । अस्पतालले रिक्त भएको स्थानमा नयाँ चिकित्सक नियुक्त गर्न सूचना पनि प्रकाशित गरेको छ ।

३० जना नयाँ चिकित्सकका लागि अस्पतालले आवेदन माग गरेको छ । दैनिक १५ सय विरामी उपचार हुने अस्पतालमा हाल ७७ जना चिकित्सक जना चिकित्सक रहेको जनाएको छ ।


प्रकाशित : २०७६ चैत्र २६, बुधबार १०:४४