वाणगंगा नगरपालिकाद्धारा राहत वितरण सुरु, शुक्रवार ७ देखि ११ वडामा वितरण गरियो

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत्र २८
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेसंगै गरिव, विपन्न तथा मजदुरहरुको समस्यालाई मध्यनजर गर्दै कपिलवस्तुको वाणगंगा नगरपालिकाले राहत वितरण सुरु गरेको छ । नगरपालिकाले एकद्धार प्रणालीबाट निर्णय गरेसंगै नगर उपप्रमुख चक्रपाणि अर्यालको संयोजकत्वमा राहत वितरण समिति गठन गरेको छ । नगरले स्थापना गरेको दैवी प्रकोप कोष विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गर्ने क्रम जारी रहेको छ ।

पहिलो चरण अन्तर्गत शुक्रवार नगरपालिकाका वडा नं. वडा नं. ७, ८, ९, १० र ११ का ८ सय ८१ परिवारलाई राहत प्रदान गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिएका छन् । नगरपालिका भित्रका राहत वितरण गरिव तथा असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई राहत वितरण गर्न लागिएको बताईएको छ । नगरपालिकाले वडा न. ७ देखि वडा न. ११ सम्मका वडा अध्यक्षहरुलाई राहत सामग्री जिम्मा लगाएको छ । त्यस्तै शनिवार वडा नं. १ देखि ६ सम्मका १ हजार ५४ घर परिवारलाई वितरण गरिने बताईएको छ । नगरपालिका भित्र पहिलो चरणमा राहत पाउने १ हजार ९ सय ३५ परिवार मध्ये ५ जना भन्दा माथिका ३ सय २६ र ५ जना भन्दा कमका १ हजार ६ सय ९ जना रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ५ जनासम्मको परिवारलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन, र २/२ वटा नुहाउने र कपडा धुने साबुन वितरण गरिने र ५ जना भन्दा माथिका परिवारलाई ३० किलो चामल, ३ किलो दाल, डेढ लिटर तेल र २/२ वटा नुहाउने र कपडा धुने साबुन वितरण गरिने राहत वितरण समितिका संयोजक चक्रपाणि अर्यालले बताएका छन् । राहत वितरण कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारु, सम्पुर्ण वडाका वडाअध्यक्ष टोल विकास संस्थाका अध्यक्ष तथा राजनितिका दलका प्रमुखहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७६ चैत्र २८, शुक्रबार १०:५३