नयाँदिल्लीबाट आएका थिए रौतहटका १४ औँ संक्रमित युवक

[sharethis-inline-buttons]

काठमाडौं, वैशाख २
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा रौतहटका १९ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४ पुगेको हो ।

यसअघि, सोमबार नै कैलालीकी एक ५२ वर्षीया महिलामा पनि कोरोना संक्रमण भएको पाइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार दुईजनामा संक्रमण देखिएको पुष्टि गरे ।

रौतहटका संक्रमित युवक यही चैत १६ गते भारतको नयाँदिल्लीबाट आएको र एक रात परिवारसँगै बसेको स्थानीयले बताएका छन् ।

हाल सेती प्रादेशिक अस्पतालमा पाँचजना, गण्डकी अस्पतालमा दुईजना, वीरगन्जको नारायणी अस्पतालमा तीनजना र काठमाडौंको टेकु अस्पतालमा दुईजना कोरोना संक्रमितहरुको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगन्जमा भेटिएका संक्रमित तीन भारतीयको सम्पर्कमा आएका २८ जना र छपकैयाटोलका ५६ जनाको ‘आरडीटी’ परीक्षण भइरहेको प्रवक्ता डा। देवकोटाले जानकारी दिए ।


प्रकाशित : २०७७ बैशाख २, मंगलवार ०१:४३