
वैशाख २९, बुटवल
अस्पतालमा अक्सिजन अभावले बिरामीको उपचार प्रभावित भएपछि रुपन्देहीमा प्रहरी सुरक्षामा सिलिन्डर अस्पताल ल्याउन थालिएको छ । अक्सिजन उत्पादक उद्योगहरुले अस्पतालको साटो अन्यत्र अक्सिजन पठाउन थालेको भन्ने गुनासो आएपछि प्रहरी परिचालन गर्न थालिएको हो । रुपन्देहीमा ३ वटा अक्सिजन उद्योग छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सत्यनारायण थापाले तीनवटै अक्सिजन उद्योगमा प्रहरीले चौबीसी घण्टा ड्युटी गरेको बताए । उनीहरुले अक्सिजन सिलिन्डर भरिनासाथ तालिकाअनुसार अस्पतालहरुमा पठाउने गरेका छन् । एक साताअघि रुपन्देही प्रशासनले ३ वटा अक्सिजन उद्योगबाट उत्पादित अक्सिजन अस्पतालमा मात्रै पठाउने निर्णय गरेको थियो । तर, धेरै ग्यास उत्पादन गर्ने शंकर अक्सिजन ग्यास प्रालिले उत्पादन गर्न नसकेको भन्दै तोकिएको अक्सिजन दिएको छैन । अन्य उद्योगले पनि उत्पादन घटेको बताउन थालेपछि प्रहरी खटाएको प्रवक्ता थापाले बताए । रुपन्देहीमा शंकर अक्सिजन ग्यास प्रालिको ५ सय ५०, लुम्बिनी अक्सिजन इन्डस्ट्रिजको २ सय ८८ र लुम्बिनी अक्सिजन ग्यास प्रालिको २ सय ८८ गरी दैनिक १ हजार १ सय २६ सिलिन्डर ग्यास उत्पादन गर्न सक्ने क्षमता छ ।
त्यसमध्ये अहिले करिब १ हजार ५० सिलिडर अक्सिजन उत्पादन भएको छ । त्यसमध्ये सरकारी स्तरका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रतिदिन ४ सय ३०, भीम अस्पताल भैरहवामा २ सय र निजीस्तरको युनिभर्सल मेडिकल कलेज भैरहवामा ४ सय २० उपलब्ध गराउने निर्णय भएको थियो ।तर आज भैरहवामा सञ्चालित यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले अक्सिजनको अभावमा उपचारगर्न नसक्ने स्थिति उत्पन्न भएको जनाएको छ । कोभिड १९ बाट संक्रमित भई अक्सिजन उपचारमा रहेकाहरुका लागि अक्सिजन व्यवस्था गर्नका लागि एक सता अघिदेखि नै प्रयास गरे पनि असफल भएको बताउँदै अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीका आफन्तहरुलाई अक्सिजनको व्यवस्था आफै गर्नु पर्ने आसय व्यक्त गरेको छ । विज्ञप्तिमा अक्सिजन आपूर्तिका लागि सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षसंग पूनः ध्यानाकर्षणका लागि अनुरोध गरिएको छ ।

