रुपन्देहीमा ,आज ५१४ जना कोरोनाका बिरामी थपिए ,९ को ज्यान गयो

[sharethis-inline-buttons]

 

 

भैरहवा ,बैशाख ३१,
पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ हजार ४ सय ७८ जनाको आरटिपिसिआर चेक गर्दा ५ सय १४ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको ज्यान गएको छ । यसोसंगै रुपन्देहीमा कोरोना संक्रमणका कारण कारणज्यान जानेको संख्या ३ सय ३६ र सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ८ जना पुगेको छ ।

संक्रमित मध्ये सबै भन्दा बढी तिलोत्तमा नगरपालिकामा ८२ जना महिला र ८३ जना पुरुष गरि १ सय ६५ जना रहेका छन् । अहिले सम्म सबै भन्दा बढी संक्रमित देखिदै आएको बुटवल उपमहानगर पालिकामा भने तुलनात्मक रुपमा संक्रमितको संख्या धेरै कम भएको छ । बुटवलमा ६३ जना महिला र ९१ जना पुरुष गरि १ सय ५४ जना संक्रमित देखिएका छन् । सिद्धार्थनगर नगर पालिकामा १७ महिला र २८ पुरुष गरि ४५ जना, सियारी गाउँपालिकामा १५ जना महिला र ४० जना पुरुष गरि ५५ जना, देवदह नगरपालिकामा ११ जना महिला र १५ जना पुरुष गरि २६ जना रहेका छन् । यस्तै सैनामैना गाउँपालिकामा १५ महिला र १५ पुरुष गरि ३० जना संक्रमित भएका छन् ।

ओमसतिया गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुष गरि १० जना, कन्चन गाउँपालिकामा ९ महिला र ७ पुरुष गरि १६ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । यसै गरि मायादेवी गाउँपालिकामा ४ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीका ४ वटा स्थानिय तहमा कोरोना संक्रमितको संख्या शून्य देखिएको छ ।

जिल्लाको गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा संक्रमितको संख्या शून्य देखिएको हो । रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन् । अहिले जिल्लामा ३३ प्रतिशत सक्रिय संक्रमित र ६५ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।


प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार ११:५२