
वैशाख ३१,
भैरहवा — स्थानीय प्रशासनको सहजीकरणमा शुक्रबार भारतबाट भैरहवा नाका हुँदै ५ सय सिलिण्डर लिक्विड अक्सिजन नेपाल आइपुगेको छ । यो अक्सिजन रुपन्देहीका अस्पतालमा उपचाररत कोभिडका बिरामीका लागि उपलब्ध गराइने छ । कोभिड संक्रमित बिरामी बढेपछि रुपन्देहीमा उत्पादनभन्दा माग अत्यधिक हुँदा अक्सिजनको हाहाकार छ । कतिपय बिरामीले अक्सिजनको अभावले ज्यान गुमाइसकेका छन् । ल्यान्ड इण्डिया लिमिटेड झारखण्डबाट शंकर अक्सिजन ग्यास प्रालि काठमाडौंबाट अक्सिजन आयात गरिएको हो । माहामारीको बेला अक्सिजनको अभाव हुन नदिन सरकारले यतिबेला अक्सिजनको आयातमा भन्सार छुट दिएको छ । एनएल ०१ एल ४६९८ नम्बरको ट्यांकरबाट भित्रिएको उक्त अक्सिजन शंकर ग्यास अक्सिजन प्रालिको रुपन्देही छिपागढस्थित प्लान्टबाट सिलिण्डरमा भरिने छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भारतबाट उक्त लिक्विड अक्सिजन भैरहवा नाकासम्म सहज रुपमा आउने वातावरण मिलाउनका लागि सिमावर्ती भारतीय समकक्षीसँग समन्वय गरेको बताए । शुक्रबार भैरहवामा बसेको जिल्ला सुरक्षा समिति लगायत सरोकारवाला सहितको बैठकले रुपन्देहीमा रहेका सबै अक्सिजन प्लान्टको व्यवस्थापनका लागि नेपाली सेनाको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।