
जेठ २,
पार्टीभित्र देखा परेका समस्या समाधान गर्न जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षबीच छलफल भइरहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको ठाकुरका स्वकीय सचिव सत्येन्द्र यादवले जानकारी दिए ।उहाँका अनुसार आन्तरिक रुपमा पार्टीमा देखा परेका समस्या समाधान गर्ने प्रयासस्वरुप छलफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने÷नदिनेबारे ठाकुर र यादव पक्ष विभाजित भएका थिए ।ठाकुरपक्षका बहुमत सांसदहरुले महतोलाई संसदीय दलको नेता चयन गरेको समाचार सार्वजनिक भएपछि यादवपक्षले त्यसलाई अस्वीकार गरेको छ । ठाकुरनिकट एक नेताका अनुसार आजको बैठकमा कुरा नमिले जसपा औपचारिक रुपमा विभाजनतिर जानेछ । समाधान हुने दिशातिर गयो भने जसपा एकताबद्ध हुने र समाधान नभए पार्टीको बहुमत सदस्यले यादवलाई कारबाही गरेर जानेछ तर यादवनिकट नेताहरुका अनुसार ठाकुरसँग अन्तिम कुराकानी गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भएको हो । यदि कुरा नमिले यादव पक्षले पनि ठाकुर–महतोलाई कारबाही गरेर जाने तयारी गरेको छ ।जसपाको हरेक निर्णय गर्ने अधिकार केन्द्रीय कार्यकारिणी समितिमा छ । सो समितिमा आआफ्नो बहुमत रहेको ठाकुर र यादवले दाबी गर्दै आएका छन् ।

