लुदअ बुटवल, जेठ ३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन् ।
जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज मदन भण्डारी फाउन्डेशनद्वारा भर्चुअलरुपमा आयोजित ‘समकालीन विश्व परिस्थिति र माक्र्सवादको सान्दर्भिकता’ विषयक जननेता भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र (पुस्तक)मा आधारित अन्तरक्रियामा पोखरेलले एमालेभित्रको विवादको समाधान कार्यदलमार्फत हुने स्पष्ट गरे ।
एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे ।