लुदअ ४ जेठ, दाङ
राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट दुई जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट दुई जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य थिए। एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित पाण्डेले केही दिनअघि प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य हुन। माओवादी केन्द्रबाट निर्वाचित अर्घाखाँचीका खड्का एमाले प्रवेश गरेपछि उनलाई माओवादीले कारवाही गरेपछि राष्ट्रिय सभा सदस्य पद गुमेको थियो ।