महामारीसँग जुध्न रूपन्देहीमा पाँच दलको संयुक्त संयन्त्र

[sharethis-inline-buttons]

तिलोत्तमा
कोरोना महामारीसँग जुध्न रूपन्देहीका पाँच दलले मेडिकल टिमसहितको संयन्त्र गठन गरेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चाले उक्त संयन्त्र बनाएका हुन् । दलहरूले संयुक्त अपिल जारी गर्दै सरकारी पक्षलाई महामारीसँग जुध्न विशेष संयन्त्र बनाउन अनुरोध गरिए पनि सुनुवाइ नभएकाले आफूहरूले राजनीतिक र मेडिकल संयन्त्र बनाएको उल्लेख गरेका छन् । रूपन्देहीमा अक्सिजनको कमीले १० जनाको मृत्यु भएको उल्लेख गर्दै अपिलमा अस्पतालमा हुनुपर्ने अक्सिजन जनप्रतिनिधिका घरमा भेटिनु र पहुँचवालाले मात्र खोप लगाउनु दुर्भाग्य भएको बताइएको छ । घर–घरमा अक्सिजन सिलिन्डर बाँडेर सरकार पक्षका केही जनप्रतिनिधिले सस्तो लोकप्रियताका लागि काम गरेको उल्लेख गर्दै उक्त अपिलमा रूपन्देहीमा ६ हजार ५ सय बढी संक्रमित अस्पतालमा बेड अभावका कारण घरमै बस्नुपरेको उल्लेख छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य वामदेव क्षेत्री, नेपाली कांग्रेसका रूपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी–माओवादीका केन्द्रीय सदस्य प्रेम सुवेदी, जनता समाजवादी पार्टीका रूपन्देही जिल्ला इन्चार्ज देवेन्द्र पाण्डे र राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमको नाम समावेश रहेको विज्ञप्तिमा डा. कृष्ण खनालको संयोजकत्वमा स्वास्थ्यकर्मीको १३ सदस्यीय टिम र उल्लिखित दलका नेता सम्मिलित ५ सदस्यीय राजनीतिक संयन्त्र बनाइएको जनाइएको छ ।


प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार ११:२५