
लुदअ रुपन्देही, जेठ ७ गते
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरुलाई दोस्रो लहरको कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि थप ७ करोड ७४ लाख बजेट पठाउने निर्णय गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले यस्तो निर्णय गरेको हो ।कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको केही दिनअघि बसेको बैठकले बजेटको सुनिश्चिता गर्दै बजेट छुट्टयाएको थियो । निर्णयसँगै बजेट निकासाको प्रक्रिया शुरु गरिएको प्रादेशिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिएका छन् ।
उक्त बजेट प्रदेश आपूर्ति केन्द्र, कोरोना अस्पताल, आयुर्वेद चिकित्सालय, जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य कार्यालयहरुलाई कोरोना रोकथाम र नियन्त्रणका लागि पठाइएको हो ।मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार बैठकले प्रदेश आपूर्ति केन्द्र, बुटवलका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
उक्त बजेटबाट केन्द्रले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्टर किट्स्, पिपिई र कोभिड १९ परीक्षणका लागि आर एन ए एक्सटक्सन किट्स, रिएजेन्टस, केमीकल लगायतका सामग्री खरिद गर्न सक्नेछ ।त्यसैगरी बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवाका लागि कोभिड १९ परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट कन्ज्युमेबल्सका लागि २० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
प्राविधिक कार्यदलको सिफारिस अनुसार लुम्बिनी प्रदेशमा रहेका तराईका ३ अस्पतालहरु पृथ्वीचन्द्र अस्पताल परासी, बर्दिया अस्पतालगुलरिया र कपिलवस्तु अस्पताल तौलिहवालाई १५ लाखका दरले ४५ लाख बजेट उपलब्ध गराउने निर्णय भएको छ ।
त्यसैगरी बैठकमा पहाडका ७ अस्पतालहरु पाल्पा अस्पताल, तानसेन, रामपुर अस्पताल, रामपुर, गुल्मी अस्पताल, तम्घास, अर्घाखाँची अस्पपताल, सन्धिखर्क, प्यूठान अस्पताल, बिजुवार, रोल्पा अस्पताल रेउघा र रुकुमपूर्व अस्पताल, सिस्नेलाई १० लाखका दरले ७० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।