देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप १२ जनालाई एमालेले स्पष्टीकरण सोध्यो

[sharethis-inline-buttons]

जेठ १०, काठमाण्डौ
नेकपा एमालेले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जनालाई पनि स्पष्टीकरण सोधेको छ ।

झलनाथ र माधव नेपालसहित ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि एमालेले कारबाही प्रक्रिया अघि बढाएको हो । आज नेकपा एमालेका २३ सांसदले आफ्नै पार्टीको अध्यक्षको कदमविरुद्ध उभिएर सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा हस्ताक्षर गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने रिट निवेदनमा उनीहरुले हस्ताक्षर गरेका हुन् ।

रिट निवेदनमा भनिएको छ, ‘असंवैधानिक रूपमा विघटन भएको प्रतिनिधि सभालाई पुनर्स्थापना गरी प्रतिनिधि सभाको सदस्यको हैसियतले संविधानको धारा ७६ ९५० बमोजिम प्रधानमन्त्री नियुक्तिको लागि म निवेदकमध्येका शेरबहादुर देउवालाई राष्ट्रपतिसमक्ष पेस गरेको मिति २०७८ जेठ ७ गतेको विश्वासको आधारमा प्रधानमन्त्री नियुक्त गर्नू ।’

यसैबीच एमालेले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । सोमवार ९आज० बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।

गएको वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेका २७ सांसद अनुपस्थित भएका थिए । गएको शुक्रवार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न २७ सांसदले हस्ताक्षर गरेको भए पनि सर्वोच्चमा रिट दायर गर्ने समयमा २३ सांसद मात्रै उपस्थित भएका हुन् ।


प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार १४:०१