कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित, २ अर्बको स्वास्थ्य सामग्री भित्रियो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ जेठ १०, काठमाण्डौ
कोभिड १९ कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमवार ९आज० भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको बताउनुभएको हो ।

यस्तै उहाँले कोरोनाविरुद्धको लडाइँका लागि विभिन्न देशबाट सहयोग आउने क्रम चलिरहेको बताउनुभयो । मन्त्री त्रिपाठीका अनुसार अमेरिका, स्पेन, स्विट्जरल्यान्ड, चीनलगायत देशबाट दुई अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । यस्तै निःशुल्क परीक्षण तथा उपचार, स्वास्थ्यकर्मीको भत्तालगायतमा पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ ।

खोप कार्यक्रम र हाई डिपेन्डेसी युनिटका लागि दुई अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको स्वास्थ्य मन्त्री त्रिपाठीले बताउनुभयो ।

यस्तै उहाँले मानिसको ओहोरदोहोर नरोकिँदा र केही कार्यालय सञ्चालन भइरहेकाले सोचे जति कोरोना रोकथाम नभएको स्वीकार गर्नुभयो । स्वास्थ्य मन्त्री त्रिपाठीले आउँदो चार हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर क्रमशः घट्दै जाने अवस्था देखिएको पनि बताउनुभयो ।

उहाँका अनुसार एक हप्तायता औसतमा दैनिक आठ हजार जना नयाँ सङ्क्रमित थपिने गरेका छन् । आज देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना रोकथाम तथा बिरामीको उपचारका लागि भेन्टिलेटर र अक्सिजन सिलिन्डर थपेको र फेरि थप्दै जाने बताउनुभयो ।


प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार १४:०८