रुपन्देहीमा घट्यो संक्रमणदरः साढे १४ सयमा परिक्षण गर्दा एक सय १२ जनामा कोरोना पुष्टि

[sharethis-inline-buttons]

पछिल्लो २४ घण्टामा रुपन्देहीमा कोभिड–१९ को पोजिटिभ दर निकै घटेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार १४ सय ४३ जनामा गरिएको आरटी पीसीआर परिक्षणमा एक सय १२ जनामा मात्र पोजिटिभ देखिएको हो । यसअघि ३० देखि ८० प्रतिशत पोजिटिभ दर देखिएकोमा पछिल्लो २४ घण्टामा उक्त दर ह्वात्तै घटेर करिब ८ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुसँगै अब रुपन्देहीमा तीन हजार ५ सय तीस जना सक्रिय संक्रमित पुगेका छन् । स्वास्थ्य कार्यालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा जिल्लामा सबैभन्दा धेरै संक्रमित तिलोत्तमा नगरपालिकामा थपिएका छन् । थपिएका मध्ये तिलोत्मामा ३१, बुटवलमा २७, सिद्धार्थ नगरपालिकामा २७, सियारीमा ४, देवदहमा ३ र गैडहवामा एक जना रहेका छन् । त्यस्तै सैनामैना नगरपालिकामा ८, ओमसतियामा २, कञ्चनमा ३, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ३, शुद्धोधनमा ३, सम्मरीमाईमा ५ र कोटहीमाई गाउँपालिकामा एक जना रहेका छन् । जिल्लामा कुल संक्रमितको संख्या २५ हजार ९ सय ५६ पुगेको छ भने हालसम्म चार सय ७ जना संक्रमितले ज्यान गुमाएका छन् ।


प्रकाशित : २०७८ जेष्ठ १३, बिहीबार १३:२३