लुदस, कपिलवस्तु
उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सभाले संघको प्रगति प्रतिवेदन, वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
साधारण सभामा उद्योगी, व्यवसायी, व्यापारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तारा कुमारी रोकायाले उद्योग व्यापार संघले साना तथा ठूला व्यवसायलाई संरक्षण गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
उहाँले उद्योग व्यापार संघ कुनै राजनीतिक दलको भ्रातृ संगठन नभई व्यवसायीहरूको हकहित र अधिकार संरक्षणका लागि स्थापित स्वतन्त्र संस्था भएको स्पष्ट पार्नुभयो। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै साना तथा मझौला व्यवसायीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सभामा संघका अध्यक्ष टोपनारायण बेल्वासेले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन, महासचिव माधव भाट क्षेत्रीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शालिकराम आचार्यले प्रस्तुत गर्नुभएको ८ लाख ५३ हजार ७ सय ३८ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बेल्वासेले जिल्लाको उद्योग तथा व्यवसाय क्षेत्रको विकास र व्यावसायिक वातावरण सुधारलाई प्राथमिकतामा राखेर संघले स्थापना कालदेखि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। व्यवसायीहरूको हकअधिकार संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन तथा निजी क्षेत्रको सबलीकरण संघका प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो।
त्यस्तै, संघका निवर्तमान अध्यक्ष कपिल पौडेलले मुलुकको औद्योगिक तथा व्यावसायिक अवस्था सुधार गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई गतिशील बनाउने ठोस योजना ल्याउन सरकारलाई आग्रह गर्दै उहाँले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले पछिल्लो समय व्यवसायीहरूले भोग्दै आएका विभिन्न समस्या, बजारको अवस्था, लगानीको वातावरण तथा उद्योग व्यवसायको संरक्षणका विषयमा धारणा राखेका थिए। व्यवसायीलाई प्रोत्साहित गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने र निजी क्षेत्रको मनोबल बढाउने खालका रचनात्मक कार्यक्रम सरकारले ल्याउनुपर्ने उनीहरूको जोड थियो।
सहभागीहरूले उद्योग व्यापार संघले स्थापना कालदेखि नै व्यवसायीहरूको हकहित, संस्थागत विकास र आर्थिक गतिविधि प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको भन्दै प्रशंसा गरेका थिए।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, उद्योगी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो। संघका वरिष्ठ उपाध्यक्ष शंकर भाट क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव माधव भाट क्षेत्रीले गर्नुभएको थियो।




















