आर एन कार्कि
स्थानीय कला, संस्कृति, पर्यटन तथा प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित कपिलवस्तुको बाणगंगा नगरपालिका–स्थित बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम–२०८३ आयोजना हुने भएको छ। शान्ति सृजना युवा क्लब, बनगाईको आयोजनामा आगामी कार्तिक २८ गते शनिबार पञ्चमीको अवसर पारेर बृहत् भैलो तथा सांस्कृतिक साँझ आयोजना गर्न लागिएको हो।
हरेक वर्ष पञ्चमीको अवसरमा निरन्तर आयोजना हुँदै आएको यस कार्यक्रमले यस वर्ष पनि सांस्कृतिक उत्सवको रूप लिने आयोजकले विश्वास गरेको छ। स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षणसँगै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरूको आकर्षक साङ्गीतिक प्रस्तुति रहनेछ। त्यस्तै, विविध सांस्कृतिक झलक, मनोरञ्जनात्मक नृत्य तथा स्थानीय प्रतिभाहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकको अपेक्षा छ। कला र संस्कृतिको संरक्षणसँगै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने गरी कार्यक्रमको तयारी भइरहेको छ।
संस्थाका निवर्तमान अध्यक्ष मानबहादुर कार्कीले क्लबले विगतदेखि गर्दै आएको सांस्कृतिक कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै यस वर्षको ११औँ संस्करणलाई ऐतिहासिक रूपमा सफल बनाउने तयारी भइरहेको बताउनुभयो। विगतका कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइलाई आत्मसात् गर्दै यसपटक थप भव्यताका साथ कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण टिम सक्रिय रहेको उहाँको भनाइ छ।
उहाँले यस्ता कार्यक्रमले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको पहिचान र प्रोत्साहन गर्नुका साथै मौलिक कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। निरन्तर ११औँ संस्करणसम्म आइपुग्नु संस्थाको लागि गौरवको विषय भएको उल्लेख गर्दै उहाँले कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।
त्यस्तै, कार्यक्रमका अध्यक्ष युगबहादुर केसी (दीपक) ले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चमीको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले सांस्कृतिक कार्यक्रम केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकता, आपसी सद्भाव र स्थानीय पहिचानलाई बलियो बनाउने महत्वपूर्ण अवसरसमेत भएको बताउनुभयो।
कार्यक्रम निर्देशक अशोक वाग्लेका अनुसार कार्यक्रमलाई दर्शकका लागि मनोरञ्जनपूर्ण र व्यवस्थित बनाउन तयारीलाई तीव्र पारिएको छ। उहाँले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति, आकर्षक नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम मुख्य आकर्षणका रूपमा रहने जानकारी दिनुभयो। दर्शकले एउटै मञ्चबाट विभिन्न विधाका कला र मनोरञ्जनको भरपूर आनन्द लिन सक्ने गरी कार्यक्रमको तयारी भइरहेको उहाँले बताउनुभयो।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजकले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ। व्यवस्थापन, कलाकार समन्वय, प्रचारप्रसार तथा अन्य आवश्यक तयारीलाई तीव्रता दिइएको क्लबले जनाएको छ।
बनगाई क्षेत्रमा हरेक वर्ष आयोजना हुँदै आएको यस कार्यक्रमले स्थानीय समुदायलाई सांस्कृतिक गतिविधिमा जोड्नुका साथै आपसी सद्भाव र सामाजिक एकता कायम गर्न सहयोग पुर्याउँदै आएको छ। स्थानीय स्तरमा रहेका कला, प्रतिभा र सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरसम्म चिनाउने माध्यमका रूपमा समेत कार्यक्रमलाई लिइएको छ।
११औँ संस्करणसम्म आइपुग्दा कार्यक्रमले निरन्तरता र संस्थागत पहिचान स्थापित गरेको छ। यस वर्षको कार्यक्रमलाई थप भव्य र ऐतिहासिक बनाउने लक्ष्यसहित आयोजक जुटिरहँदा बनगाईसहित आसपासका क्षेत्रका दर्शक तथा संस्कृतिप्रेमीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रम सञ्चालन हुने निश्चित स्थान, समय तथा कलाकारहरूको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिनेछ। पञ्चमीको अवसरमा आयोजना हुने यस सांस्कृतिक उत्सवले बनगाईलाई सांस्कृतिक गतिविधिको केन्द्र बनाउने र स्थानीय कला तथा प्रतिभाको प्रवर्द्धनमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।




















