परासी, २१ जेठ ः
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ताबारे कसैसँग पनि छलफल नभएको बताउनु भएको छ । जनता सामाजवादी पार्टीका नेता महन्थ ठाकुर समुहसँग मिलेर नयाँ पार्टी दर्ता गर्न लागेको भन्नेबारेको चर्चा निराधार हल्ला मात्र भएको मन्त्री त्रिपाठीको भनाई छ । आज गृह जिल्ला पश्चिम नवलपरासी पुगेका मन्त्री त्रिपाठीले पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो । स्वतन्त्र राजनीतिक समुहका संयोजक समेत रहनु भएका त्रिपाठीले आफूले तत्कालीन एमालेसँग गठबन्धन गर्दा आरोप लगाउने महन्थ ठाकुर र उपेन्द्र यादवहरु क्रमशः आफूले अंगिकार गरेको राजनीतिक लाइनमा आएको दाबी गर्नुभयो । १९ महिना सरकारमा बसेर जानु भएका उपेन्द्रजीलाई बिदाई गरेपछि अहिले महन्थजीलाई स्वागत गर्न पाउँदा आफूले नैतिक र राजनीति बिजयी भएको महसुश गरेको मन्त्री त्रिपाठीको भनाई छ । आफ्नो लाइनले राजनीतिक नेतृत्वको दुरदर्शितालाई पुष्टि गरिसकेकाले अब छिट्टै नयाँ दल दर्ता गर्ने मन्त्री त्रिपाठीको भनाई छ ।यसैबीच, पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीको स्वास्थ्य सेवा सञ्चालन प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले असन्तुष्टि जनाउँदै आक्रोश पोख्नुभएको छ ।