लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतबाटै पारित हुने, ३८ अर्बको हाराहारीमा बजेट ल्याउदै

लुदअ बुटवल, जेठ २४
लुम्बिनी प्रदेशको प्रदेशसभामा भोलि दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरी संसदमा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले भोलि दिउँसो ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तुतका लागि बैठकले सिफारिस गरेको बताए ।यस्तै, लुम्बिनी प्रदेश सरकारको कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपिएको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थप गरेको मन्त्री चौधरीले बताए ।मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता चौधरीले बहुमतको सरकारले नीति तथा कार्यक्रम पास गर्ने बताए । विपक्षी दलहरूले सरकारले अध्यादेशबाट नीति तथा कार्यक्रम, बजेट ल्याउने भने पनि सरकारले संसद्बाटै बहुमतले नीति तथा कार्यक्रम र बजेट पास गर्ने बताए । विपक्षी गठबन्धन भने सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पास गर्न नदिने रणनीतिमा छ । मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेकाले उनी नेतृत्वको सरकारले ल्याउने बजेट पास गर्न नदिने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खाँनले बताए ।

यसैबिच लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार केही बढाउने भएको हो ।संघीय सरकारको अनुदान र प्रदेश सरकारको स्रोत व्यवस्थापन गरी चालु आर्थिक वर्षको तुलनामा केही ठुलो आकारको बजेट ल्याउने तयारी भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बताए ।

चालु आर्थिक वर्षका लागि ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले बजेटको आकारमा केही वृद्धि गरी आगामी वर्षका लागि रकम विनियोजन गर्ने उनको भनाइ छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *