जेठ २६,
कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द भएको एक महिना बित्दा गन्तव्य देशमा समस्यामा पर्ने श्रमिकहरूको सङ्ख्या पनि बढ्दै गएको छ । सुरुवाती दिनमा समस्यामा पर्नेहरूको सङ्ख्या न्यून रहे पनि उडान बन्द भएको समय लम्बिँदै जाँदै घर नफर्की नहुने नेपाली श्रमिकको सङ्ख्या पनि गन्तव्य देशमा बढ्दै गएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जनाकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा निर्धारित समयमा स्वदेश फर्किन नपाएका झण्डै सय जनाले श्रम कल सेन्टरमार्फत आफ्नो समस्या राखेका छन् । धेरैजसो समस्या राख्नेहरू संयुक्त अरब इमिरेट्स यूएईबाट रहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । पहिलेजस्तो रोजगारी गुमाएर अलपत्रै पर्नेहरू नभए पनि उडान बन्द भएकै कारण करार र भिसा सकिएर घर फर्किनै पर्ने नेपालीहरू धेरै भएकाले उडानहरू खुल्दै जाँदा समस्या पनि समाधान हुँदै जाने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । यस्तै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पनि उडानहरू बन्द हुँदा घर फर्किन खोज्ने नेपालीहरू बढ्दै गएको बताउनुभयो । भिसा र करार सकिएर मात्रै मलेसियाबाट घर फर्किन खोज्ने लगभग एक हजार छन् । त्यस्तै जेल सजाय पूरा गरिसकेका झण्डै ६५ जनालाई तत्काल स्वदेश फर्काउन पर्ने अवस्था छ भने विभिन्न कारण मृत्यु भएका नेपालीका शव पनि जहाज नचल्दा रोकिएका छन् ।