
लुदअ बुटवल, जेठ ३१
आइतबार नीति कार्यक्रम पास गरेको लुम्बिनी प्रदेश सरकारले भोलि मंगलबार आगामी आर्थिक बर्ष २०७८/७९ को बार्षिक बजेट ल्याउने तयारी गरेको छ । भोलि तीन बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य जारी गर्नेछन् ।
प्रदेश सरकार गठन भएपछिका तीन वटा बजेट अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखेरेलले पेश गरेका थिए । आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइन लागेको प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा डा ईश्वर गौतमले बताए । उनले ३८ अर्वमा केही थपघट हुनसक्ने गरी बजेट आउन सक्ने संकेत गरे ।
चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो । रोजगार सिर्जना लक्षित कृषि कार्यक्रम र सञ्चालनमा रहेका परियोजनाहरुलाई पूर्णता दिने गरि बजेट आउने उनको भनाई थियो ।
डा गौतमले बजेटमा अघिल्ला बर्षहरुमा जस्तो नयाँ ठूला आयोजनाहरु समावेश नगरिएको पनि जानकारी दिए । सरकारले चालु आर्थिक बर्षको बजेट पनि स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर ल्याएको थियो ।

