प्रतिपक्षी दलहरूद्धारा लुम्बिनी प्रदेश सरकारको बैद्यता देखाउन माग गर्दै बैठक बहिष्कार

[sharethis-inline-buttons]

बुटवल ।
लुम्बिनी प्रदेशका प्रतिपक्षी दलहरूले लुम्बिनी प्रदेश सरकारको बैद्यता देखाउन माग गर्दै बैठक बहिष्कार गरेका छन् । आइतबार प्रदेशसभामा विशेष समय माग गरेर बोल्दै कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार आफै वैद्य नभएको बताउँदै आफ्नो बैद्यतालाई प्रदेशसभामा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका हुन् ।

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकार वैध कि अवैध भनेर पहिलो छुट्याइनुपर्ने माग गरेको छ । त्यसपछि मात्रै प्रदेश सरकारले ल्याएको बजेट पास गर्नतिर सोच्न सकिने विपक्षी गठबन्धनको अडान छ ।

यता लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले सरकार आफै अबैध रहेको समयमा आएको बजेट मान्य नहुने बताउँदै उनले भने – ‘अहिले सरकारले बजेट पूर्वको छलफलमा कुनेपनि नयाँ कार्यक्रम नपर्ने, पूर्ण कोभिड केन्द्रित हुने र पुराना कार्यक्रमलाई मात्रै निरन्तरता दिने भनेपनि सबै मन्त्रीले कार्यकर्ता पोस्ने खालको बजेट आएको छ । ’ ग्लाेवल आवाजसंग भने –‘एक त सरकार आफै अबैद्य छ, त्यसैमा अएको बजेट जनताको लागि भन्दा पनि आफ्ना कार्यकर्ता पोस्नमा केन्द्रित छ ।’

उनीहरूले बजेटलाई पुनर्लेखनको समेतको माग गरेका छन् । यता लुम्बिनाी प्रदेश संसदीय दल माओवादीका प्रमुख सचेतक तुलाराम घर्तिले बैशाख १९ गतेबाट माग राख्दै आएपनि असार सम्म आइपुग्दा बैद्यता नदेखाउनु सरकारको कदम गलत भएको बताए । उनले आफुहरुको गठबन्धनबाट कांग्रेस दलका नेताले बोलेको बताउँदै यथाशीघ्र सरकारले आफूलाई वैद्य बनाउन आग्रह गरेका हुन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भएपनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् । विपक्षीको दावी अनुसार मुख्यमन्त्रीसँग प्रदेशसभामा विश्वासको मत छैन । यही विवादका बीच काँग्रेस, माओवादी, जसपा सहितका विपक्षी गठबन्धनले आइतबारको प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर बहिष्कार गरेको छ । बैठकमा आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो । यही विवादको कारणले अर्को प्रदेश सभाको बैठक असार ९ गते बुधबार बस्ने सचिवालयले जनाएको छ ।


प्रकाशित : २०७८ असार ६, आईतवार १०:३२