नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको भन्दै यसविरुद्ध संघर्षमा उत्रनुपर्ने बताउनुभएको छ । आज विपक्षी दलले गरेको पत्रकार सम्मेलनमा उहाँले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरेको बताउनुभयो । प्रधानमन्त्रीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान नै संकटमा परेको भन्दै देउवाले अध्यादेशमार्फत शासन चलाउने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएको बताउनुभयो । प्रधानमन्त्रीले सिर्जना गरेको चुनौती पार गर्न आफूहरु संघर्षमा रहेको भन्दै देउवाले आवश्यक परेमा जनपरिचालन गर्ने समेत बताउनुभयो ।




















