काठमाडौं ,आषार १४
प्रदेश–१ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।
प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध पारेको हो । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए।
मन्त्री गुरुङले आइतबार बोल्ने क्रममा सभामुखले भनाई टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गाली गरेका थिए ।
सोमबारको बैठक सञ्चालन लगत्तै माओवादी केन्द्रका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बोल्नका लागि समय दिएका थिए । माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले मन्त्रीले रोष्ट्रमबाटै माफी मागेर उहाँको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध जारी रहने बताए । मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने उनले माग गरेका थिए ।
माओवादी दलका उपनेता राईले मन्त्रीले माफी नमागेसम्म बैठक अवरुद्ध हुने भनेपछि सभामुखले बैठक भोलिसम्मका लागि स्थगित गरे।




















