काठमाडौं ,२० असार,
स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भोलि सोमबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर आयोजनाको उद्घाटन गर्न लागेका हुन् ।माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार भोलिदेखि नै तामाकोशीको ७६ मेगावाट बिजुली रष्ट्रिय प्रशारणमा जोडिनेछ । अबको १५ दिन परीक्षण उत्पादन अवधिको रुपमा रहनेछ । त्यसपछि तामाकोशीबाट व्यवसायिक उत्पादन सुरु हुनेछ र प्राधिकरणले कम्पनीलाई बिजुलीबापत पैसा तिर्न सुरु गर्नेछ । ७६÷७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश ः विद्युत उत्पादन हुनेछ । श्रेष्ठका अनुसार असारभित्र २ वटा युनिटबाट बिजुली उत्पादन थाल्ने लक्ष्य छ ।



















