
२० असार, काठमाडौं ।
काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ । अब सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ । हरेक दिन सवारी साधन निसंक्रमित गर्नुपर्नेछ ।
यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४र४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ । तर सवारी साधनको मध्य भागमा दुई तर्फका यात्रु छुट्याउने गरी प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ ।
वैशाख १६ देखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले जोर बिजोरका आधारमा असार ७ देखि निजी र १५ गते २५ सिटभन्दा माथिका बस मात्र चल्ने दिएको थियो ।
पसल बिहानैदेखि खुल्ने
उपत्यकामा पसल खोल्ने समय पनि बढाइएको छ । अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।
यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसलहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो । औषधि र स्वास्थ्य सामाग्रीसम्बन्धी पसल भने जुनसुकै समयमा सञ्चालन गर्न पाइनेछ ।

