
काठमाण्डौ
नेपाली काँग्रेसले सर्वोच्चको फैसला नआउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति विरोध जनाएको छ ।
]
काँग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका ल्याउन हतारो गरेको बताए ।
हिजोको संसद विघटन र अहिलेको संसद विघटनको प्रकृति एउटै भने नभएको ढुंगानाको भनाइ छ । ’हिजोको र अहिलेको संसद विघटन फरक छ । संविधानको धारा ७६ को पाँच अन्तरगत बहुमत सांसदले सर्वोच्चमा रिट दिएका छौं । त्यसलै अहिले नै निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिहाल्नुपर्ने परिस्थिति थिएन ।’यसअघिको संसद विघटनपछि पनि निर्वाचन आयोगले पाठ नसिकेको उनको भनाइ छ ।
यस्तो छ निर्वाचन आयोगको कार्यतालिका
निर्वाचन आयोगले आगामी मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ ।
तालिकानुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० र २१ गते उम्मेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको आयोग स्रोतले जनाएको छ ।
त्यसैगरी, दोस्रो चरणको मतदानका लागि असोज ३१ र कार्तिक १ गते उम्मेदवारी मनोनय दर्ता गर्ने र कार्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख रहेको बताइएको छ ।
प्रधामन्त्रीको सिफारिसमा गत गत जेठ ७ गते मध्यराति राष्ट्रपतिले प्रतिनिधि सभा भङ्ग र निर्वाचन घोषणा गरिएको थियो । जसअनुसार आगामी कात्तिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणको मतदान हुने छ । सोहीअनुसार निर्वाचन कार्यतालिका तयार भएको र चाँडै दल दर्ताका लागि समेत आह्वान गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।
यद्यपि प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा केही दिनमै फैसला आउने अपेक्षा गरिएको छ । अदालतले संसद पुनःस्थापनाको आदेश दिएमा निर्वाचन हुने छैन । संसद विघटन अदालतले सदर गरेमा भने निर्वाचनको वातावरण बन्न सक्ने देखिन्छ ।

