देउवाको सत्तारोहण: जनताको भरोसा जित्ने अवसर

ByLumbini Darpan Online

२९ असार २०७८, मंगलवार ०५:१७ २९ असार २०७८, मंगलवार ०५:१७ २९ असार २०७८, मंगलवार ०५:१७

लुम्बिनी दर्पण

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्न लागेका छन् । सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै उनको पाँचौ पटक प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

७५ बर्षिय देउवालाई अदालतले प्रधानमन्त्री बन्ने बाटो खोलेसँगै अब उनले विश्वासको मत लिन सफल भएमा यस प्रतिनिधिसभाको पुरै कार्यकाल अर्थात कम्तिमा डेढ बर्ष प्रधानमन्त्री बन्ने छन् ।

सर्वोच्चले देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको भने अदालतले साउन ३ गते बेलुका ५ बजेसम्म संसद् बैठक बोलाउन समेत आदेश दिएको छ ।


विस २००३ जेठ ३१ गते डडेल्धुराको साबिक असिग्राम गाविस–५ र हालको गन्यापधुरा गाउँपालिका–१ मा जन्मिएका देउवा ०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए ।  त्यसपछि देउवा २०५२ भदौ २७ गते देखि २०५३ फागुन २९ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

पहिलोपटक प्रधानमन्त्री बनेको ६ वर्षपछि ०५८ साउन ११ देखि २०५९ असोज १८ सम्म देउवा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए ।

त्यसपछि तेस्रो पटक २०६१ जेठ २१ देखि २०६१ माघ १९ सम्म प्रधानमन्त्री बनेका देउवालाई तत्कालिन राजा ज्ञानेन्द्रले अक्षम भन्दै सत्ताच्यूत गरेका थिए । त्यसपछि देउवा चौथो पटक २०७४ जेठ २४ गतेदेखि २०७४ फागुन ३ गतेसम्म प्रधानमन्त्री बनेका थिए । यस अवधिमा उनले अहिलेको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराएका थिए ।

त्यस्तै देउवा ०४८ देखि प्रतिनिधिसभामा लगातार विजयी हुदै आएका छन् । उनी २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भए भने ०६४ र ०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर ४ र कैलाली ६ बाटसमेत विजयी भएका थिए । त्यस्तै पछिल्लो पटक

डडेल्धुरामा देउवाले ०७४ मा छैटौंपटक चुनाव जितेका थिए ।  ०७२ फागुनदेखि नेपाली कांग्रेसको सभापति रहेका देउवा नेपाल विद्यार्थी संघका संस्थापक सदस्य र पूर्व-सभापतिसमेत हुन् ।


अब पाँचौ पटक प्रधानमन्त्री बन्न लागेका देउवाका अगाडी राजनीतिक चुनौती त छन् नै समग्र परिस्थिति भने असहज रहेको बेला उनी प्रधानमन्त्री बन्दै छन् ।  कोरोना महामारीको अवस्था रहेको छ । जनताको ज्यान गइरहेको छ । लगातारको लकडाउनले समग्र आर्थिक गतिबिधि ठप्प हुदा आम जनताको दैनिकी कष्ठकर रहेको छ भने देशको आर्थिक अवस्था समेत नाजुक रहेको छ ।

अब देउवाको सत्तारोहणपछि उनले सरकारका प्राथमिकता निश्चित गर्नु अपरिहार्य रहेको छ । जनतालाई कोरोनाबाट बचाउन सबै जनतालाई खोप लगाउने वातावरण बनाउन जरूरी रहेको छ । खोपलाई सरकारले पहिलो प्राथमिकतामै राख्नु अत्यावश्यक छ । त्यस्तै स्वास्थ्यका मापदण्डको पालना गराएर आर्थिक गतिबिधि सुचारु गर्ने तर्फ सरकार केन्द्रित हुनुपर्छ ।

तेस्रो कुरा अहिले सरकार समग्ररुपमा अलोकप्रिय रहेको छ । जसको कारण जनतामा व्यवस्था नै खराब होकी भन्ने धारणा विकास हुनेक्रममा छ ।  यसलाई चिर्न सरकारलाई जनताले महसुस गर्नेगरी पारदर्शी रुपले चलाउने जिम्मेवारी देउवाको काधमा आएको छ ।  जे जस्तो परिस्थितिले देउवा सरकारमा आएपनि जनताले सरकार जनताको लागि हो भन्ने महसुस गराउन नसके नयाँ सरकारको औचित्यनै पुष्टि हुदैन ।

देउवा नेतृत्वका यस अघिका सरकारको विश्लेषण गर्दा उनीप्रति धेरै आशा र भरोसा गर्न भने सकिदैन ।  उनी त्यति लोकप्रिय नेता होइनन् ।  तर अहिलेको परिस्थितिमा देउवाले यस अघि आफूमाथि लागेका दाग पनि पखाल्ने सुनौलो अवसर प्राप्त गरेका छन् । यस अघि धेरै मन्त्री बनाएको, देशमा राजनीतिक बिकृति भित्र्याएको आरोप उनी माथि छ । अब अहिलेको प्रश्न देउवाले चुनौतीका चाङका बीचबाट आफुमाथि लागेको दाग पखाल्न सक्छन् त ? भन्ने हो ।

त्यस्तै राजनीतिक रुपमा देश विभाजित भएपनि अहिलेको स्वास्थ्य संकटको बेला आम जनताको भरोसाको केन्द्र बन्न देउवालाई सुनौलो अवसर रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *