देउखुरीमा प्रदेश राजधानीको गुरुयोजना निर्माणले गति लिंदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन ३, लुम्बिनी
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानीमा व्यवस्थित शहर निर्माणको कामलाई तीव्रता दिएको छ । प्रशासनिक भवनदेखि विषयगत कार्यालय स्थानान्तरण र गुरुयोजना बनाउने कामले तीव्रता पाएको प्राधिकरणले जनाएको छ । यसका लागि राप्ती उपत्यका देउखुरीको आकाशमा ड्रोनको मद्दतबाट सर्भेको काम भइरहेको छ । एरियल सर्भेको काम शुरु भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिए । प्रदेशसभा बैठक सञ्चालनका लागि पाँच करोड २१ लाखको लागतमा सुविधा सम्पन्न सभाहल निर्माणको काम शुरु भएको प्राधिकरणले जनाएको छ । एउटा मन्त्रालयले त कामकाजसमेत थालिसकेको छ ।

सरकारले लुम्बिनी प्रदेश सरकार मातहतमा राप्ती प्राविधिक शिक्षालय रहने निर्णय गरेपछि सभागृह निर्माणको काम शुरु भएको छ । शिक्षालयभित्र रहेको सभाहल सानो भएपछि नयाँ सभाहल आवश्यक परेको हो । त्यसैले सभाहल निर्माणको काम अगाडि बढेको छ । चालु आर्थिक वर्षभित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष्य छ । लुम्बिनी प्रदेश स्थायी राजधानीको गुरुयोजना निर्माणको काम शुरु भएको छ । तीनवटा कन्सल्टेन्सी गुरुयोजना निर्माणको लागि छानिएको प्राधिकरणले जनाएको छ ।

राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ८ र ९ लाई समेट्ने छ । प्रशासकीय केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै प्रकारको क्षेत्र तोक्ने र सोहीअनुसार डिजाइन बनाउनका लागि सर्भेको काम थालिएको छ ।


प्रकाशित : २०७८ श्रावण ३, आईतवार १३:५६