हरि आचार्य, अर्घाखाँची
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ का सुनौलो हजार दिनका महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । नगरपालिकाले वडालाई सिफारिस गरेअनुसार सिमलपानी स्वास्थ्य चौकीको समन्वयमा वडाका ९० जना महिलालाई पौष्टिक आहार वितरण गरिएको हो ।
एक जना महिलालाई २ किलो चना र आधा लिटर तेलका दरले पौष्टिक आहार प्रदान गरिएको सिमलपानी स्वास्थ्य चौकीका प्रमुख राम प्रसाद खनालले जानकारी दिए । शरिर शारिरीक रुपमा स्वस्थ हुनुपर्ने समय हजार दिनमा पौष्टिक आहार पाउदा महिलाहरुले खुसी व्यक्त गरेका छन् ।
कार्यक्रमका अध्यक्ष वडाध्यक्ष दुर्गा बहादुर विसिले वडावासीको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै अगाडि बढेको बताए । वडाध्यक्ष विसिले विकास निर्माणसंगै वडावासीलाई स्वस्थ राख्नका लागि वडाले हरेक कार्यक्रम सञ्चालन गरिरहेको बताउदै नगरपालिकासंगको समन्वयमा पौष्टिक आहार वितरण गरिएको बताए । गर्भवती महिलाहरु तथा शिशुहरुको वृद्धि विकासका यो कार्यक्रम सञ्चालन गरिएको र आगामि दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
वडाध्यक्ष विसिको अध्यक्षता, वडा सचिव आनन्दलाल कर्णको स्वागत मन्तब्य तथा सिमलपानी स्वास्थ्य चौकी प्रमुख राम प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।