
साउन १४
पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् ।पौडी खेल्ने क्रममा दुई बालक भने बचेका छन् । बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
बिहीबार मध्यान्ह चारजना पौडी खेल्न गएकोमा ११ वर्षीय प्रश्न बिक र ११ वर्षीय भिषण पुन भने बाँच्न सफल भएका छन् । आफूहरु नदीमा नभइ छेउमा आएको पानीमा खेलेको र एक्कासी दुईजनालाई बगाएको भीषण पुनले बताए ।
बेपत्ता दुई बालकको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना नेतृत्वको विपद व्यवस्थापन टिमले खोजी कार्य जारी राखेको डिएसपी हवारीले जानकारी दिए ।

