साउन १५
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्ध डेढ करोड खोप खरिद गर्न लागेको बताएका छन् । उनले खोप खरिद र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको भन्दै सरकार तेस्रो लहरको तयारीमा जुटिसकेको बताएका हुन् ।रोटरी क्लब काठमाडौंद्वारा शुक्रबार आयोजित सम्मान कार्यक्रममा उनले भने, ‘१२ वर्षभन्दा माथिका सबै नेपालीलाई करिब पाँच करोड ५० लाख डोज खोप जरुरी रहेकाले त्यसको व्यवस्थापनमा म सक्रिय छु । खोप व्यवस्थापन गर्न सक्छु भन्ने हिम्मतसाथ काम गरिरहेको छु ।’
राज्यमन्त्री श्रेष्ठले निजी संघसंस्थामा आफ्नो आबद्धता अहिले परित्याग गरेको बताए । उनले गैरनाफामूलक र सामुदायिक स्वास्थ्य संस्था स्थापनाका लागि आफू सक्रिय भएको, तर सञ्चारमाध्यमले आफूलाई बुझ्न नसकेको पनि गुनासो गरे । आगामी एक सय दिनको कार्ययोजना तयार गरिरहेको पनि उनले जानकारी दिए । खोप आइसकेपछि पनि आपूर्ति प्रणाली र व्यवस्थापकीय सुधार हुन नसकेको भन्दै अहिले आफू त्यसमै केन्द्रित रहेको श्रेष्ठले बताए ।




















