प्रदेशको तेस्रो र जिल्लामै पहिलो पटक बाणगंगा वालमैत्री नगर घोषणा

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वालमैत्री नगर घोषणा भएको छ । वडा नं. १ स्थित मायादेवी रिसोर्टमा एक भव्य कार्यक्रमको आयोजना गरि नेपालमा नवौँ, प्रदेशमा तेस्रो र कपिलवस्तु जिल्लामा पहिलो नगरपालिकाका रुपमा बाणगंगा नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गरिएको हो । नगरपालिकालाई बालमैत्री बनाउन बालमैत्री स्थानिय शासन रणनिति २०६८, कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि २०७० र स्थानिय सरकार संचालन ऐन २०७४ र बालबालिका संरक्षण निति तथा ऐन नियमावलीको आधारमा बालअधिकारका क्षेत्रहरु बाल बचाउ, बालसंरक्षण, बाल बिकास र बाल सहभागिताका सुचकहरु पुरा गरि बालमैत्री नगर घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।


पुर्व कृषि मन्त्री चक्रपाणि खनाल वलदेव र जिल्ला समन्वय समिति प्रमुख नारायण खनालले वालमैत्री नगर घोषणा भएको प्रमाण पत्र नगर प्रमुख मंगल प्रसाद थारुलाई प्रदान गरि घोषणा गरिएको थियो भने ११ वटै वडाका वडाध्यक्षलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व कृषि मन्त्री तथा प्रतिनिधि सभा सांसद चक्रपाणि खनाल वलदेवले जिल्लामै पहिलो पटक वालमैत्री नगर घोषणा भएको सफलताको शुभकामना व्यक्त गरे । उनले घोषणा मात्र गरेर नहुने भन्दै आगामि दिनमा कार्यान्वयनको पक्ष मजबुत हुनुपर्नेमा जोड दिए । सम्पुर्ण सुचक पुरा गरि घोषणा गरे पनि आगामि दिन चुनौती पुर्ण रहेकाले यस तर्फ ध्यान दिन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई आग्रह गरे ।

त्यस्तै विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वालमैत्री नगर घोषणाले वालवालिका माथि हुने हिंसाको अन्त्य हुने अपेक्षा गरिन् । अब नगरपालिकालाई निकै चुनौती थपिएको भन्दै कार्यान्वयनको पक्षलाई दिगोपनका साथ अगाडि बढाउन आग्रह गरिन् ।
पुर्व राजदुत तथा नेपाली कांग्रेसका नेता दिप कुमार उपाध्यायले अब वालवालिका प्रति पनि दायित्व बढेको भन्दै घोषणा मात्र गरेर नहुने भएकाले सबै जनाले अब सोंच परिवर्तन गर्न आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले बाणगंगा नगरपालिका प्रदेशमै तेस्रो नगरको रुपमा वालमैत्री नगर घोषणा भएकाले यो गौरवको बिषय बनेको बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, नेपाली कांग्रेस नगर प्रतिनिधि हरिराज घिमिरे, जिल्ला समन्वय समिति प्रमुख नारायण खनाल, उप प्रमुख तारावती चौधरी लगायतले नगरपालिकालाई सफलताको शुभकामना दिंदै कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा मेयर मंगल प्रसाद थारुले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक, सामाजिक संघ संस्था, पत्रकार लगायत सम्पु्र्ण नगरवासीको अथक प्रयासले जिल्लामै पहिलो नगरपालिकाको रुपमा अब्बल गराउन सफल भएको भन्दै समपुर्णलाई धन्यवाद व्यक्त गरे ।

उपप्रमुख चक्रपाणि अर्यालले अब आगामि दिनमा निरन्तरता दिनका लागि विभिन्न रणनिति बनाएको भन्दै ती योजनाहरुलाई क्रमशः लागु गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै यो कार्यक्रमका फोकल पर्सन तथा शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले बालमैत्री नगर घोषणाका लागि विभिन्न वडाहरुमा गरिएको क्रियाकलापहरुको जानकारी गराएका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सन्देशमुलक गीत, नृत्य तथा झांकी प्रस्तुत गरेका थिए । वाल संजाल वडा नं. ११ का अध्यक्ष अर्चना आचार्य र वडा नं. ४ का वला संजाल अध्यक्ष पर्दिप बस्यालले वालमैत्री नगरका वालवालिकाको रुपमा प्रस्तुत हुन पाउँदा गर्वको महशुस भएको बताए ।

मेयर थारुको अध्यक्षता, उपप्रमुख अर्यालको स्वागत मन्तब्य तथा सामाजिक विकास समिति संयोजक भिष्मराज भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत वासुदेव खनाल, सबै वडाका वडाध्यक्ष, वडा सदस्य, कर्मचारी, राजनितिक दल, विद्यालय, वाल सहजकर्ता, वाल संजालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७८ श्रावण १५, शुक्रबार १४:१६