साउन २०
कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ । नगर कार्यपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले यही साउन २९ गते राति १२ः०० बजेसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिए ।
नगरपालिका क्षेत्र हाल उच्च स्वास्थ्य सङ्कटमा रहेको हुँदा चापाकोट नगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए । नगरपालिकासहित नगरअन्तर्गतका वडा कार्यालय, सम्पूर्ण बैंक तथा वित्तीय संस्था, सरकारी, गैरसरकारी सङ्घ संस्था एवं शैक्षिक संस्थाबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरिएको उन ले जानकारी दिए ।
वडा–वडामा सङ्क्रमण दर बढ्दै गइरहेकाले नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूर्णरुपमा पालना गर्न, अत्यावश्यक कामकाजबाहेक घरबाहिर ननिस्कन र निस्कुनपरेमा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्न अनुरोध गरिएको स्वास्थ्य शाखा प्रमुख एवं सूचना अधिकारी बिन्दु कोइरालाले बताए