मेलम्ची बाढी : खाद्यान्न लिन ८ घण्टा हिँड्नुपर्ने बाध्यता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन २२, सिन्धुपाल्चोक
मेलम्ची खोलामा आएको बाढीले स्थानीयमा अनेकौं समस्या थपिएका छन् । बाढीका कारण सडक सञ्जाल, विद्युत सेवा र टेलीफोन सम्पर्कबाट स्थानीय वञ्चित हुन थालेका छन् ।

हेलम्बुको हिमाली बस्ती मेलम्ची घ्याङ, तार्के घ्याङ, नाकोते जस्ता ठाउँहरु सडक, विद्युत तथा सञ्चारबाट पूर्णरुपमा विच्छेद भएका छन् । मेलम्ची घ्याङका स्थानीयलाई खाद्यान्न र औषधि लानै समस्या भएको छ । हेलिकप्टर आउँदा राहतको सास फेरे पनि बाढी आउँदा मन कहालिएर आउने हेलम्बुका बाढी प्रभावितहरु बताँउछन् ।

 

असार १ गते आएको बाढीले हेलम्बु देखि मेलम्ची र तटीय क्षेत्र लेदोले पुरेको थियोे । तर साउन १६ गते शनिबार राति आएको बाढीले कटान थालेपछि नदी किनार आसपासका स्थानीयमा समस्या आइपरेको छ ।
असार १ गतेको बाढीले बचेको हेलम्बुको एतिहासिक चनौटे बजारको रातो पुल, चनौटे बजार, ग्याल्थुम बजार, तालामाराङ मेलम्चीमा केही क्षति पुर्याएको थियो । तर साउन १६ गतेको बाढीले भने ती सबै ठाउँमा पूर्ण क्षति पुर्याएको छ ।

 

बाढीको वितण्डा र वर्षातको समय भएकोले हिमाली बस्तीका स्थानीय एक गाउँबाट अर्को गाउँसम्म समेत जान सक्ने अवस्था छैन । मेलम्ची घ्याङ भने सबै सेवा सुविधाबाट पूर्णरुपले वञ्चित बनेको छ ।

सडक निर्माण प्रमुख आवश्यकता
अहिले हेलम्बुमा राहत सामाग्री लिएर जानसमेत समस्या भइरहेको छ । पुल र सडक नहुँदा बिरामी तथा सुत्केरी व्यथा लागेकालाई अस्पताल लैजान समस्या हुन थालेको छ । हेलिकप्टरबाट राहत नआए मेलम्ची बजारदेखि दैनिक ७र८ घण्टा बोकेर सामान ल्याउनुपर्ने बाध्यता छ ।

 

‘असार अघि एक दुई बोरा चामल जोहो गरेको राखेको थियौ त्यो पनि सकिन थाल्यो यातायातको सेवा छैन पुल सडक जताततै भत्किएको छ’, स्थानीय साङ्गनोर्बु शेर्पाले भन्नुभयो, ‘चनौटे र मेलम्ची बजारबाट बोकेर नल्याए खान पाउने अवस्था छैन, विद्युत नहुँदा टेलिफोन सेवा पनि चलेको छैन, धेरै समस्या छ ।’

पुल र सडक नहुँदा अहिले हेलम्बु पाँचपोखरी र मेलम्ची नगरपालिकाका स्थानीय बिरामी पर्दा समेत अस्पताल जान सक्ने अवस्था छैन् । पुल र सडककै समस्याका कारण स्थानीय मिल, घट्टको सुविधाबाट समेत वञ्चित बनेका छ्न । बाढीबाट जति पीडित बनेका छन्, त्यति नै सडक सञ्जाल बन्द हुँदा समस्यामा परेका छन् ।

 

‘हिँडेर आउन पनि बाटो राम्रो छैन, पहिरो आउने जङ्गलको बाटो हिँड्नु पर्ने अवस्था छ’, थाङ्पालकोटका सोनाम ग्याल्वो तामाङले भन्नुभयो, ‘त्यसैले सरकारले तत्काल पुल र सडक निर्माण गरेर सञ्चालनमा ल्याउनु पर्ने देखिन्छ ।’

 

बाढीले धेरैका घर बगायो । कतिका व्यवसाय बगायो । कृषि फार्म देखि लिएर माछा पालन समेत बगायो । बाढीबाट ट्राउट फर्मको क्षति बेहोर्नुभएका युवराज खड्का पनि सडक सञ्जाल सञ्चालनमा ल्याउनु नै अहिलेको प्रमुख आवश्यकता ठान्नुहुन्छ ।

‘अब क्षति भएको स्थानमा तत्काल सडक निर्माण गरेर चनौटेमा पुल निर्माण नगरे स्थानीय अझै धेरै मर्कामा पर्ने देखिन्छन, त्यसैले यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।’


प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार ०९:०२