
मनाङ आश्विन १
माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।
सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार पछि सवारी सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिए ।
उनका अनुसार लमजुङको बेँसीसहरदेखि मनाङको नासोंको खोत्रोसम्म , चामे र माथिल्लो मनाङ ङिस्याङमा पनि सवारी सञ्चालन भएको छ। उनले सदरमुकाम चामेसम्म दशैँ अगावै यातायात सञ्चालन गरिने लक्ष्य रहेको बताए ।
“सडक मर्मत तथा सम्भारको भइरहेको छ। वर्षा भइरहेकाले समस्या छ।” उनले भने, “वर्षा भइरहेको छ। एक ठाउँमा बनायो। अर्को स्थानमा भत्किने समस्याले अलि गाह्रो भएको छ।” सो सडक खण्डको एक सय सात किलोमिटरमध्ये लमजुङको बेँसीसहरदेखि नासों –१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।
त्यस्तै, चामे गाउँपालिकामा स्थानीयसहितका सहयोगमा पालिकाम पूरै सवारी सञ्चालन भएको उनले बताए। आयोजना प्रमुख पन्तका अनुसार सो सडक खण्डअन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुन बाँकी छ। उक्त सडकअन्तर्गत माथिल्लो र तल्लो मनाङलाई जोड्ने तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको जनाइएको छ । स्रोत रासस

