चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

[sharethis-inline-buttons]

मुग्लिन,२ आश्विन

परापुर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका छन ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा धर्म, संस्कृति, परम्परा रहेकाले जनगणनामा धर्मका ठाउँमा प्रकृित उल्लेख गर्ने नेपाल चेपाङ सङ्घका केन्द्रिय महासचिव आइतसिं चेपाङले बताए । उनले भने, “हाम्रो आफ्नै धर्म छ, त्यो प्रकृति हो, हामी मानव निर्मित मन्दिरमा पूजा गर्दैनौँ, प्रकृतिमा आफै उत्पत्ति भएका ढुङ्गा, ठूलो वृक्ष, पहाड, खोला र माटोलाई पुज्ने गर्छौं, त्यसैले हाम्रो धर्म प्रकृति हो, राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति र भाषामा चेपाङ लेख्नेछौँ ।”

नेपाल चेपाङ सङ्घको अगुवाइमा चेपाङ समुदायलाई आफ्नो भाषा, धर्म, संस्कृतिबारे जानकारी गराउन टोलटोलमा कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनले जानकारी दिए । सङ्घ वागमती प्रदेशका सचिवसमेत रहेका चितवनका लक्ष्मण चेपाङले पनि धर्ममा प्रकृति उल्लेख गर्न अभियान नै सञ्चालन गरिएको जानकारी दिए । पछिल्लो समय आफ्नो भाषा, धर्म, संस्कृति लोप हुने स्थितिमा पुगेपछि सङ्गठित रुपमा नै नेपाल चेपाङ सङ्घले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । नेपालको २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको सङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३९९ रहेको छ ।


प्रकाशित : २०७८ आश्विन २, शनिबार ०७:४६