गुल्मीको रेसुङ्गाको गौमुत्र नेपालकै उत्कृष्ट

[sharethis-inline-buttons]

गुल्मी , १८ आश्विन

रेसुङ्गाको गौशालाबाट संकलन तथा प्रशोधन गरिएको गो अर्क अर्थात गहुँत नेपालमै उत्कृष्ट रहेको पाइएको छ । अहिले रेसुंगाको गौशालाबाट गोमुत्र संकलन, प्रशोधन तथा बिक्री वितरणको काम भइरहेको छ । रेसुंगा गौशालाको गहुँत प्रयोगशालामा परीक्षण गर्दा जडिबुटीको गन्धसहित देशको अरु स्थानको भन्दा उत्कृष्ट भएको रेसुंगा संरक्षण समिति गुल्मीको दाबी छ ।

अहिले दैनिक २० लिटर गौमुत्र संकलन र प्रशोधन गरिएको छ । गौमुत्र काठमाडौं प्रयोगशालाबाट परीक्षणसमेत गरिएको छ । परीक्षण क्रममा रेसुंगाको जंगलमा पाइने विभिन्न थरीका दुर्लभ जडिबुटीहरू खाएका, चिसो र अग्लो ठाउँमा चरेका स्थानीय जातका गाईहरूको गहुँत देशका अरु गौशालामा भन्दा उत्कृष्ट पाइएको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले दाबी गरे ।

उनले रेसुंगा गौशाला २०४२ सालबाट २६ वटा गाईहरूबाट सुरु गरिएको बताए । अहिले गौशालामा एक सय ५० भन्दा बढी गाईहरू छन् । रेसुंगा संरक्षण समितिले नै गाईहरूको संरक्षण र व्यवस्थापनको काम गरिरहको छ । स्वर्गद्वारी आश्रमका प्रमुख भागवतानन्दको पहलमा अहिलेबाट गो अर्क संकलन, प्रशोधन र बजारीकरणको काम गरिएको भुसालले बताए ।

प्रशोधित गहुँत केही दिनमा लेवलिङ गरेर बजार पठाउने योजनामा समिति रहेको छ । यो सबै कामको सहजीकरण झविन्द्र ज्ञवालीले गरेका छन् । उनी स्वर्गद्धारी आश्रमका संरक्षक भागवतानन्द गिरीका भक्त हुन् ।

संरक्षण समितिका सचिव मोती खनालका अनुसार ज्ञवालीकै पहलमा दाताहरूबाट संकलन गरेका केही रकमबाट ६० लाख रुपैयाँको लागतमा गौशाला व्यावस्थापन, गोपालहरूको बासस्थान र गाईलाई दर्शन गर्न आउने दर्शनार्थीहरूलाई बस्ने व्यवस्थासहितको काम भइरहेको छ । गौशालामा कात्तिक औँशीमा ठूलो मेला लाग्ने गर्दछ । स्रोत न्यूज काराखाना


प्रकाशित : २०७८ आश्विन १८, सोमबार १३:०९