
भैरहवा ,कात्तिक ६
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति नेपाल ल्याईएको छ। बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट नेपाल ल्याईएको हो। भैरहवा भन्सार कार्यालय बेलहिया हुदै नेपाल ल्याईएको बुद्ध मुर्तिलाई नगर परिक्रमा गराईएको छ।
सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवा, लुम्बिनी होटल संघ नेपालको संयोजन तथा लुम्बिनी सास्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेसनको समन्वयमा मुर्तिलाई सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराई एयरपोर्टमा राखिएको छ।
करिब दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातु सेतो जेड ढुङगाबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने जनाएको छ। सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो।
एक हजार ८०० किलो तौल, १।९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको बुद्धमूर्तिको अनावरण पछि गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट आयने जाने आम पर्यटकले शान्तिको अनुभुति गर्न पाउने लुम्बिनी गोर्डन फाउन्डेसनका प्रतिनिधी तुलसीराम लामिछानेले जानकारी दिए।
विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको जनाइएको छ। बुद्धमूर्ति कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुहुने कार्यक्रम रहेको छ। त्यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विषेश प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फउन्डेसनले जनाएको छ।
बुद्धमुर्ति नगरपरिक्रमा गराउने क्रममा आयोजित कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य ईश्तियाक अहमद खाँन, पुर्व प्रदेश मन्त्री सन्तोषकुमार पाण्डेय, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत भुपेन्द्र पाण्डेय लगाएतले बिमानस्थलमा राखिने बुद्ध मुर्तिले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आएपछि पर्यटकले शान्तिको अनुभुति गर्ने बताए। उनीहरुले लुम्बिनी सहित बुद्धसंग सम्बन्धीत क्षेत्रको एकसाथ बिकास गर्नु पर्नेमा जोड दिए। खबरपात्रोबाट