
बुटवल ,कार्तिक १८
बिहीबार बुटवल–७ शिवनगरमा नन्दिनी गौ संरक्षण केन्द्रको शुभारम्भसँगै बुटवलमा देउसीभैलो पनि खेलीएको छ । औपचारिक समारोहबीच शुभारम्भ गरिएको उक्त कार्यक्रममा एउटा रमाइलो कार्यक्रम देउसीभैलो कार्यक्रम पनि भयो ।
उक्त देउसीभैलो कार्यक्रममा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले भट्टाए भने निर्वाचनका समयमा उनका प्रत्यासी हालका कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डे नाचे ।
उपमहानगर प्रमुख सुवेदी र कांग्रेस सभापति पाण्डेले देउसी खेल्दै गौशाला संरक्षणको संकल्प गरेका छन् ।स्थानीय निर्वाचनमा बुटवल उपमहानगरको मेयर पदका लागि एक–आपसमा प्रतिष्पर्धा गरेका उनीहरु बिहीबार भने एउटै आँगनमा देउसीभैलो नाचगान गरेका हुन् ।
सयौं गाइलाई चरण सहितको क्षेत्रमा स्याहार–सुसार गर्ने र गाइको बारेमा अनुसन्धान गर्नेगरी गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । शिवनगर सामुदायिक वन क्षेत्रको करिब ९ बिगाहा क्षेत्रफलमा व्यवस्थित गौ संरक्षण स्थापना गरिएको हो ।
लक्ष्मी पूजाको अवसर पारेर बुटवल उपमहानगर प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, मुक्तिनाथ धाम बुटवलका ब्रह्मनिष्ठ शन्त शिरोमणी लोकानन्द स्वामी र सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष नारायणबहादुर घिमिरे तथा काँग्रेस बुटवलका सभापति पाण्डेले एकसाथ शुभारम्भ गरेका हुन् ।
भविष्यमा गौ अनुसन्धान केन्द्र, पञ्चगब्य उत्पादन र अध्ययन स्थलका रुपमा विकास गर्ने अवधारणा सहित गुरुयोजना बनाएर गौ संरक्षण केन्द्र स्थापना गरिएको बुटवलका प्रमुख सुवेदीले जानकारी दिए । भव्य गाइपुजा, गोवर्धन पूजा, मन्त्रोच्चारण, भूमिपुजनसहित केन्द्रको शुभारम्भ गरिएको थियो ।केन्द्रमा तत्कालै बुटवलका सडकमा रहेका छाडा चौपाय ९गाई,गोरु० लगिने र चरण क्षेत्र विस्तार गरिने वनका अध्यक्ष घिमिरेले बताए । त्यहाँ लगेपछि पशु सम्बन्धी रोगका विशेषज्ञले परीक्षण गर्नेछन्, सुसारेले घाँसपातको प्रबन्ध मिलाउने प्रबन्ध गरिएको बुटवलका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिए ।