
भैरहवा ।
सीमावर्ती क्षेत्रमा एक जना नेपाली युवाको अपहरण भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर २ मैनिहवाका २१ वर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले अपहरण गरेको परिवारले आरोप लगाएका छन् । भारतमा बस्ने उनीहरुले दशगजा क्षेत्रबाट आफ्नो काबुमा पारेर भारत तर्फ लगेको छन् ।
मैनिहवाका अनिल कहार दैनिक जस्तै घरमा बसि रहेका थिए । उनलाई सीमापारी बस्ने सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरि दशगजामा बोलाएको र त्यहाँबाट मोटरसाईकलमा भारत तर्फ नै लगेको प्रत्यक्षदर्शीहरुले बताए । पीडितका दाजु समेत पर्ने सन्नीदेवल कहारले जसवलका ४ जनाले भाइलाई अपहरण गरि लगेको र अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाए । “भाइलाई फोन आयो, उसलाई दशगजा क्षेत्रमा बोलाए र कुटपिट गर्दै भारत तर्फ लगे ।” कहारले भने ।
पीडितकी आमा सुधा कहारले पनि आफ्नो छोरालाई सञ्जय यादवले अपहरण गरि लगेको बताएकी छिन् । हिजो साँझ करिब साढे ६ बजे छोरालाई सञ्जयले चोरेर लगेको भन्दै उनी अहिलेसम्म बिलौना गरि रहेकी छिन् । रोहिणी गाउँपालिका वडा नम्बर २ मैनिहवा भारत नेपालको सीमामै जोडिएर रहेको गाउँ हो । यस अघि पनि त्यँहा भारतीय प्रहरीले बिभिन्न समयमा गाउँमै पसेर नेपालीहरुलाई लैजाने गरेका थिए । अहिले भने भारतीय नागरिकले पनि अपहरण गर्न लागेको भन्दै मैनिहवावासी अक्रोशित छन् ।