स्थानीय तहको चुनावी झल्कोमा नवलपरासी कांगेस अधिवेशन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि शर्मा
परासी,

पश्चिम नवलपरासी कांग्रेसको अधिवेशनमा स्थानीय तहको चुनावी झल्को देखिएको छ । चुनावी मैदानमा उत्रिएका उमेदवारहरुले स्थानीय तहको चुनावी झल्को दिने गरी आ आफ्ना गाडीमा फोटोसहितका व्यानर टाँगेर चुनावी प्रचार प्रसारमा दौडिएका छन् । मतदातालाई आफूतर्फ तान्न घरदैलो अभियान र समुहगत भेटघाट कार्यक्रमलाई पनि तिव्रता दिएका छन् । अधिवेशनका मतदाता वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधि हुन् । जिल्लामा कुल १३ सय ३८ जना क्षेत्रीय प्रतिनिधिहरु चुनिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसिर ३ गते प्रदेश सभा र ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुँदै छ । वडा र स्थानीय तहको चुनावमा समेत गुट बनाएर चुनावी मैदानमा उत्रिएका जिल्लाका दुई गुटले क्षेत्रीय अधिवेशनमा पनि प्यानल बनाएर चुनावी प्रचार प्रसारमा जुटेका हुन् ।
जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा र इतर गुटका नेताहरु प्रतिस्पर्धामा उत्रिएका हुन् । देउवा पक्षधर रहेका पार्टी केन्द्रीय सदस्य एंव पूर्वगृहराज्य मन्त्री देबेन्द्रराज कँडेलको एक गुट छ भने इतर पक्षका संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवालको संयुक्त गुट छ । देउवा इतर गुटले आफूहरु केन्द्रमा पनि देउवा इतरकै पक्षमा लाग्ने भएकाले केन्द्रीय नेताको पक्षमा नखुलेको बताएका छन् । ‘ देउवा इतर जो नेता उठेपनि हाम्रो समर्थन हुन्छ । अहिले नै कुनै एक नेताको बारेमा नबोलौं । नेता खनालले भने ।
जिल्लामा कँडेल र अर्को गुटबीच पहिल्यैदेखि नै पानी बाराबारको स्थिति छ । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । पार्टीको सम्पन्न गाउँ÷नगर निर्वाचनमा देउवा इतर गुटले वर्चस्व कायम गरेको छ । जसअनुसार २ गाउँपालिका र १ नगरपालिकामा कँडेल गुटले चुनाव जितेको थियो । अन्य २ गाउँपालिका र २ नगरपालिकामा देउवा इतरका खनाल–जयसवाल गुटले चुनाव जितेको छ । जिल्लामा २ निर्वाचन क्षेत्रमा ४ वटा प्रदेश सभा क्षेत्र छन् । स्थानीय तहको मत परिणामअनुसार प्रदेश र संघीय निर्वाचनमा पनि देउवा इतर गुटको वर्चस्व देखिएको छ । उक्त गुटको १ निर्वाचन क्षेत्र र ३ वटा प्रदेश सभा क्षेत्रमा बलियो मत रहेको अघिल्लो मत परिमाणले देखाएको छ । कँडेल गुट १ वटा निर्वाचन क्षेत्र र १ वटा प्रदेश सभामा अघि देखिएको छ । जिल्ला सभापतिमा पनि दुवै गुटले उमेदवार घोषणा गरिसकेका छन् । कँडेल गुटले शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र अर्को वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई अघि सारेका छन् । यद्यपी सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनु पर्ने प्रावधान रहेकाले दुवै जनाको उमेदवारी चर्चामा मात्र सिमित छ । जिल्ला अधिवेशन मंसिर १० गतेका लागि तोकिएको छ


प्रकाशित : २०७८ मंसिर ३, शुक्रबार १४:३३